Logo

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने



दुल्लू, २० माघ: दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६-७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । “भत्ता ६÷६ महिनामा वितरण गरिनेछ”, अध्यक्षले भने ।

त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्