एजेन्सी, २० माघ । म्यानमारकी नेत्री आङ सान सुचीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न आग्रह गरेकी छिन् । नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) को फेसबुक पेजबाट सुकीको प्रतिनिधित्व गर्दै पोस्ट गरेको सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न र त्यसको प्रतिरोध गर्न आग्रह गरिएको छ ।
सोमबार बिहान राष्ट्रपति विन मिन्टलगायतका नेताहरुसँगै म्यानमारकी स्टेट काउन्सिलर तथा विदेश मन्त्री सुचीलाई पनि सेनाले पनि गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि सुचीलाई सार्वजनिक रुपमा देखिएको छैन । सुचीले उक्त सन्देशमा भनेकी छिन्, ‘म नागरिकहरुलाई सैनिक ‘कु’ अस्वीकार गर्न आग्रह गर्दछु । साथै उक्त कदमको प्रतिरोधका लागि पनि आग्रह गर्दछु ।’
म्यानमारको सेनाले नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ । सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ ।सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको थियो ।-Photo: Agency