महोत्तरी, २० माघ । विभिन्न धनमाल चोरी गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । नगद १ लाख ७६ हजार रुपैयाँ र करिब साढे ३ तोला बराबरको सुनका विभिन्न गहना चोरी गरेको अभियोगमा सोही नगरपालिका–५ टुटेश्वर बरडाँडा बस्ने १५ वर्षीय किशोरलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
बर्दिबास नगरपालिका–१० बिश्वकर्मा चोक बस्ने कुल बहादुर देवकोटाको घरबाट कोही नभएको अवस्थामा चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीले चोरीमा संलग्न ती किशोरलाई पक्राउ गरेको जानकारी दिएको छ । चोरीमा संलग्न फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।