Logo

तीन प्रधानमन्त्री कहिले सडक त कहिले निर्वाचन आयोग



काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराउने कदम चालेपछि तीनजना पूर्व प्रधानमन्त्रीहरु कहिले सडक त कहिले निर्वाचन आयोगमा धाउन वाध्य भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका तीन नेताहरु फेरि सडक प्रदर्शन र धर्नाहरुमा पुग्न वाध्य भएका हुन् ।

ओलीले पूर्व प्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालतर्फ व्यङ्ग्य गर्दै बुढेसकालमा सडकमा किन बसेको भनेका छन् । केही हप्तापूर्व प्रचण्ड, नेपाल र खनाल हामी यहाँ छौं भन्दै सडकमा धर्ना दिन पुगेका थिए ।

पछिल्लो समय नेकपा आधिकारिकताको दाबी गर्दै पूर्व प्रधानमन्त्रीत्रय निर्वाचन आयोग तीन पटक पुगिसकेका छन् । उनीहरु बेला बेलामा आधिकारिकता सम्बन्धी दाबी प्रस्तुत गर्न आयोग पुगेका हुन् ।

नेकपा विभाजन भएपछि ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरी अद्यावधिकका लागि अयोगलाई पत्र दिइसकेको छ । दाहाल नेपाल पक्षले भने ओलीलाई पार्टीबाट निष्काशन गरी जिम्मेवारीहरु हेरफेर गरेको छ । तर, नयाँ निर्णयलाई अद्यावधिक गर्न निर्वाचन आयोग मानिरहेको छैन ।

आज पनि प्रचण्ड, नेपाल र खनाल निर्वाचन आयोग पुगे । उनीहरुले आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग भेटी आधिकारिकताको दाबी प्रमाण पेश गरेका छन् ।

प्रधानमन्त्री ओली भने आधिकारिकताको दाबी गर्न आयोग अहिलेसम्म पुगेका छैनन् । उनी सभा र कार्यक्रममा धेरै बोल्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्