Logo

खेलकुदसँग प्रधानमन्त्री : रोचक, ठट्टा अनभिज्ञता र प्रतिबद्वता



माघ २०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकासका लागि आफू सधैं तयार रहेको बताएका छन् । मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरै भन्दा धेरै खेलमा नेपालले सहभागीता जनाउनु पर्नेमा जोड दिदै यस क्षेत्रको बिकासका लागि आफु प्रतिवद्ध रहेको बताएका हुन् ।

कोरोनाका कारण खेलकुद क्षेत्र पछि परेको बताउँदै प्रधानमन्त्री ओलीले अब भ्याक्सिन आइसकेको अवस्थामा नेपाली खेलकुदले गति लिने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले कोरोनाका कारण बजेट घटेको स्वीकार गर्दै यसै वर्ष कोरोनालाई परास्त गर्ने अभियानमा सरकार रहेको बताउँदै बजेट बढ्ने आश्वासन पनि दिएका छन् ।

ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा मात्रै राखेनन्, सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिए । त्यमध्ये एक प्रश्न थियो, मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ ?
लिखित प्रश्न पढेपछि उनले प्रतिप्रश्न गरे, अझै बनिसकेको छैन त्यो ? त्यसपछि मञ्चमा भएका राखेप सदस्य सचिव रमेश सिलवालले अब दुई वर्ष लाग्छ भनेपछि प्रधानमन्त्री ओलीले भने, धेरै वर्ष भइसक्यो । अझै बनेको छैन भन्दा अचम्म लाग्यो । अब छिट्टै बन्छ ।’

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीहरुलाई मानपदवीमा भएको विभेदबारे सोधिएको प्रश्नमा पनि प्रधानमन्त्रीले कसैले पाएन ? भन्दै अनविज्ञता प्रकट गरे । राखेप सदस्य सचिव सिलवालले ‘केहीले पाए, केहीले पाएनन्’ भनेपछि प्रधानमन्त्री ओलीले आगामी दिनमा ध्यान दिउँला भनेका छन् ।
२०–२५ वर्षदेखि कर्मचारीहरु नभएको विषयमा सोधिएको प्रश्नमा पनि उनले अनविज्ञता प्रकट गरे । उनले आश्चर्यभावमा सोधे, किन बढुवा गर्ने ठाउँ नै रहेछ कि क्या हो ?


प्रधानमन्त्रीले अघि भने, कहिले कहिले ठाउँ हुँदैन के ! खेलकुद परिषद्को अध्यक्ष भइसकेपछि फेरि उपाध्यक्षमा बढुवा गर्न भएन क्या रे ! त्यस्तै हो भने नत्र बिसौं वर्षदेखि कसरी बढुवा भएन ?’
सदस्य सचिव सिलवालले पनि २०६३ सालदेखि बढुवा रोकिएको छ भनेर जानकारी गराए । प्रधानमन्त्रीले फेरि सोधे, २०–२५ वर्षदेखि बढुवा भएको छैन ? हलबाट एक स्वर आयो, छैन ।

पूर्वाधारको सवालमा खेलाडीहरुको प्रश्नको जवाफ दिँदै सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने विषयमा केही व्यक्तिको इगोका कारण पनि समस्या भएको जिकिर गरेका छन् । ओलीले चुनाव पछि आउँदो आर्थिक वर्षको बजेट पेश हुँदा पूर्वाधार निर्माणका लागि बजेट पेश गर्ने प्रतिवद्धता जनाए ।

ओलीले थपे, २७ गते चुनाब हुन्छ। चुनाब पछिको बजेटमा यी कुरा ध्यान राख्छौं। अर्को वर्ष त्यस्तो हुन्न। अनि ५ वर्ष यस्ता कुरामा अल्मलिनु पर्दैन । घोषण गरेको काम गर्नलाई नै हो ।’

ओलीले राखेपमा कार्यरत अस्थायी र करारका कर्मचारीहरुको पनि व्यवस्थापन गर्ने बताएका छन् । यसैगरी उनले युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई राखेपका कर्मचारीको बढुवा लगाएतका समस्या समाधानका लागि विस्तृत रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् ।

धारणा राख्ने क्रममा ओलीले हारजीतको ठूलो महत्व रहेको भन्दै नेपाल कहिल्यै नहारेको देश भएकाले खेल पनि जीतका खेल्न आग्रह गरे । ‘लडाइँमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्नै ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ उनले भने ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाले ७५३ स्थानीय तहमा चार वर्ष सम्म महिला र पुरुष फुटबल प्रतियोगिताका लागि बजेट माग गरेको छ । नेपाल भलिबल संघले राष्ट्रिय खेल भए पनि कभर्डहल बनाउनका लागि ध्यानाकर्षण गराएको छ भने मार्सल आर्टसले पनि पूर्वाधारबारे ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्