Logo

बाँदर र बँदेलले अन्नबाली सखाप, किसान बने निरास



अर्घाखाँची, माघ २१ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाअन्तगर्तका विभिन्न ठाउँमा लगाइएका अन्नबाली तथा तरकारी खेती बाँदर र बँदेलले नष्ट पारेका छन् । दिनरात मेहनत गरेर उब्जाएको अन्नबाली भित्रयाउन नपाउँदै बाँदर र बँदेलले सखाप पारेपछि किसान निरास बनेका छन् ।

दिनभरि बाँदरको ड्युटी गरेर जोगाएको अन्नबाली तथा तरकारी राति भएपछि बँदेलबाट जोगाउन नसक्दा त्यस ठाउँका किसानहरूको खेतीपाती गर्ने मनोबल घट्दै गएको छ । जसका कारण खेतीयोग्य जमिन बाँझो छोड्न थालिएको छ ।

दुई सयदेखि तीन सयसम्म बाँदरको बथान एकैपटक पसेर किसानले उत्पादन गरेको गहुँ, जौ, केराउ तथा आलु नष्ट पार्नुका साथै घरभित्र राखेको अन्नबाली, फलफूलदेखि घरमा राखिएको खाने कुरा खाइदिन थालेपछि किसान निरास बन्नपुगेका हुन् । उता बँदेलले पनि रातभरि किसानले लगाएको आलुलगायतका तरकारी रातभरि खान मन लागेको खाने र खान मन नलागे सबै खनेर नष्ट गर्दा उक्त ठाउँका किसानहरू मर्कामा परेका छन् ।

गर्मी मौसममा असिना र पसिना गरी लगाएको अन्नबाली तथा जाडो मौसममा चिसोसँगै कठ्यांग्रिएर उब्जाएको तरकारी खेती घरमा ल्याउन नपाउँदै खेतबारीमा नै रित्तिन थालेपछि उक्त ठाउँका किसान चिन्तित बनेका छन् । यति बेला सो ठाउँमा बाँदरले अन्नबाली खाइदिने मात्र नभई धपाउन गएका किसानहरूलाई उल्टै जाइलाग्ने गरेपछि उनीहरू असुरक्षित बन्दै गएका छन् ।

गाउँका युवाहरू धन कमाउन वैदेशिक रोजगारमा गएपछि उक्त इलाकामा अधिकांश महिला, वृद्धा तथा बालबालिका मात्र बसोवास गर्ने भएकाले बाँदर तथा बँदेल धपाउन निकै कठिनाइ भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot