Logo

प्रचण्ड–नेपाल समूहद्वारा आयोगमा आधिकारिकता दाबी पेस



काठमाडौं, माघ २१ । नेकपा प्रचण्ड–माधव पक्षले आफ्नो पक्षको नै आधिकारिकता रहेको निर्वाचन आयोगमा दाबी गरेको छ । सो पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आयोग आधिकारिकता दाबी गरेको हो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेस गरेका हुन् ।

आयोगमा २७५ केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आधिकारिकताका लागि दाबी प्रस्तुत गरेको नेता राजेन्द्र पाण्डले जानकारी दिए । जुन निर्वाचन आयोगमा अभिलेखमा रहेको नेकपा केन्द्रीय कमिटीको ६२ दशमलव ३५ प्रतिशत हुन आउँछ ।

‘यसअघि हामीले दलको निर्णय अभिलेखीकरणका लागि निवेदन दिएका थियौं । माघ १२ गते आयोगले एउटा निर्णय गरेर पुस ५ गते यताका बैठकको निर्णय मान्दैनौं भन्यो । त्यस्तै तपाईंहरुको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय हो भन्यो । सोहीबमोजिम हामीले दलको आधिकारिकताका लागि निवेदन दिएका छौं।’ –नेता पाण्डेले भने ।

सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । ऐनको धारा टेकेर दाबी प्रस्तुत गरेको नेकपाका नेताहरुले बताएका छन् । आधिकारिकता माग्दै दाबी पेस गरेपछि वरिष्ठ नेता खनालले आफूहरू नै आधिकारिक हुनेमा सय प्रतिशत विश्वस्त रहेको बताए ।

‘हामीले दुईवटा केन्द्रीय कमिटी बैठकबाट प्रमाणित गरेका छौं, तेस्रो र हिजो सम्पन्न चौथो केन्द्रीय कमिटी बैठकमा पनि त्यही उपस्थिति रहेर निर्णय गरेका छौं’, खनालले भने, ‘तथ्य, प्रमाण निर्णय र विधान सबै कुरालाई राखेर दाबी गरेका छौं। अहिले नेकपा भनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारिक हो भन्ने दाबी प्रस्तुत गरेका छौ ।’

‘हामीले प्रधानमन्त्री केपी ओलीसहितका नेतालाई हटाएको कुरा विधानबमोजिम हो, यही कुरा आयोगमा प्रस्तुत गरेका छौैं’, उहाँले भन्नुभयो– ‘ती तथ्यलाई पनि ध्यानमा राखेर आयोगले निर्णय गर्छ ।’

ऐनअनुसार आधिकारिता दाबी गरेपछि नेकपाको आधिकारिता विवाद कानुनी प्रक्रियामा प्रवेश भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot