Logo

पूर्वाधारमा पालिकाः लकडाउनमा ११ किलोमिटर पर्यटन पदमार्ग



पोखरा, माघ २१ । कोरोना भाइरस महामारीको त्रासले गत चैतदेखि मुलुकमा लकडाउन भयो । यसका कारण मानवीय आउजाउ मात्र रोकिएन । ठूला तथा साना विकास निर्माणका काम पनि ठप्प भए । लकडाउनका कारण मजदुर एका एक बेरोजगार बनेपछि कैयौं दिन पैदलै हिडेर घरसम्म पुगे । बेरोजगार र कम आयश्रोत हुने वर्गका लागि राहत वितरण गर्न थालियो । सहरदेखि गाउँसम्म राहतका कार्यक्रम ल्याइए ।

लकडाउनले सबैतिरका आर्थिक गतिविधि ठप्प भएको यही बेलालाई कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने विकास निर्माणलाई गति दिने अवसरको रूपमा उपयोग गर्‍यो । लकडाउनमा बाहिरी आउजाउ बन्द भएको सोही मौका छोपेर गाउँपालिकाले स्थानीयस्तरमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनायोे । त्यही योजना अनुसार अरु सुतेकै बेला अन्नपूर्णले ११ किलोमिटर पर्यटन पदमार्ग तयार पार्‍यो ।

लकडाउनमा बाहिरी आउजाउ बन्द भएको मौका छोपेर गाउँपालिकाले स्थानीयस्तरमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनायो। सोही योजना अनुसार अन्नपूर्णले ११ किलोमिटर पर्यटन पदमार्ग तयार पार्‍यो ।

गाउँपालिका अध्यक्ष युवराज कुँवर भन्छन्, ‘सबैतिरका विकास निर्माण रोकिए । तर हामीले त्यही लकडाउनलाई सदुपयोग गर्दै ११ किलोमिटर पर्यटन पदमार्ग बनायौं । अरुलाई लकडाउनले नोक्सान मात्र पुर्‍यायो, हामीलाई फाइदा दियो ।’ उनका अनुसार लकडाउनको मौका पारेर काँडे–अस्ट्रेलियन क्याम्प, मर्दी हिमाल, झिनु–छोमरोङलगायतका पदमार्गमा नयाँ सिँढी बनाइएको थियो, जुन पदमार्गमा दिनहुँजसो पर्यटक हिड्छन् ।‘अरुतिर राहत बाढ्न थाले । हामी भने सिँढी बनाउन थाल्यौ,’ अध्यक्ष कुँवरले भने, ‘करिब अढाई करोड रुपैयाँ खर्च गरेर विभिन्न पदमार्ग सुधारेर हिड्न योग्य बनायौं । पदमार्ग वर्षौंदेखि मर्मतसम्भार नहुँदा अस्तव्यस्त थिए । तर, लकडाउनको मौका पारेर हामीले सिँढी बनायौं ।’

त्योभन्दा अघि पनि गाउँपालिकाले पर्यटन पदमार्गमा सिँढी बनाउन थालेको थियो । पञ्चासे पर्यटन पदमार्गमा पनि डेढ किलोमिटर दूरीमा सिँढी बनाएर हिड्न सहज बनाएको उनले बताए । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमै जोड दिएको गाउँपालिकाले ७ किलोमिटर दूरीको पर्यटन पदमार्गमा सिँढी बनाउने तयारी थालेको छ । चालु आर्थिक वर्ष पर्यटन पदमार्गमा सिँढी बनाउन मात्रै करिब डेढ करोड रुपैयाँ खर्च गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । उनका अनुसार अन्नपूर्ण आधारशिविर क्षेत्रको पदमार्ग सहित झिनु–छोमरोङ खण्डको पदमार्गमा पनि थप सिँढी बनाउने तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot