Logo

विकराल हुँदै ‘हेपाटाइटिस बी’



डोल्पा, २१ माघ । नेपालकै ठूलो जिल्ला डोल्पा अधिकांश भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रभित्र पर्दछ । टेलिफोन सेवादेखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिलेसम्म पुग्न पुगेको छैन । खासगरी तीनवटा स्थानीय तहमा स्वास्थ्य सेवा, टेलिफोन सेवादेखि खाद्यान्नको पीडा यहाँ बस्ती भएदेखि यहाँका मानिसले भोग्दै आएका छन् ।

उपल्लो डोल्पाले सबै परिवर्तनहरु टुलुटुलु हेर्दै बसेको छ तर आफ्नो ठाउँको प्रगति र विकासका विषयमा भने मौन छ । यहाँका बहुमूल्य जडीबुटीदेखि प्राचीनकालमा निर्मित गुम्बामा रहेका मूर्ति चोरको निशानामा पर्दै आएका छन् । उपल्लो डोल्पामा पाइने जडीबुटीले संसारका मानिसलाई ज्यान बचाउन काम लाग्छ तर यहाँकै मानिसलाई भने सो औषधि आफ्नै गाउँठाउँमा नपाउँदा अकालमै ज्यान जाने गरेको छ ।

गर्भवती जाँचदेखि सुत्केरी हुँदासम्म समस्या पर्ने बित्तिकै लाखौँ रकम खर्च गरेर हेलिकोप्टरमार्फत चार्टर्ड गरेर देशका ठूला शहरमा गई धौधौ ज्यान बचाउनुपर्ने बाध्यता उपल्लो डोल्पाका सर्वसाधारणको सही नसक्नु पीडा छ । एक गाउँबाट अर्को गाउँमा जानका लागि दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको पीडा गाउँलेहरु बताउँछन् ।

अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको थियो  । यस्तै, एक जनामा एचआईभी र तीन जनामा हेपाटाइटिस सी भेटिएको डा मेलिना हमालले बताए।

वीर अस्पतालका वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिनुले समस्या विकराल नै भएको जानकारी उतिबेला नै दिएका थिए । तिब्बतीयनसँगको हेलमेलका कारण यो रोग भित्रिएको बताउँदै बच्चा जन्मनेबित्तिकै लगाइने ‘हेपाटाइटिस बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको उनको भनाइ थियो ।

‘हेपाटाइटिस बी’ सङ्क्रमितलाई रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उहाँले जानकारी दिए  । उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायत गाउँमा यो रोगका मानिस रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । सोमबार मात्र छार्का ताङसोङ गाउँपालिका–१ का ४५ वर्षीय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी दुई जनालाई हेपाटाइटिस बीकै कारण थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । हेलिकोप्टरबाट बिरामी लिँदा स्थानीयको रु पाँच लाखभन्दा बढी खर्च भएको छ । चिकित्सकले उपल्लो डोल्पामा हेपाटाइटिस बीबारेमा जानकारी दिँदादिँदै सरोकारवाला निकाय मौन हुँदा यहाँका नागरिक थप समस्यामा पर्ने निश्चित भएको डा मेलिना हमालले जानकारी दिए ।

अघिल्लो वर्ष बृहत स्वास्थ्य शिविरका लागि शे–फोक्सुण्डो गाउँपालिकाले बजेट विनियोजन गरे पनि सो शिविर गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए । उनका अनुसार यो आर्थिक वर्षमा पनि रु २५ लाख शिविरका लागि छुट्याएको छ । अहिले हिमपात भएका कारण रोकिएको बताउँदै न्यौपानेले भने, “चैत महिनासम्म बृहत् शिविर राखेर उपचारका लागि काम थालिने छ, हेपाटाइटिसका विषयमा छलफल भइरहेको छ ।” त्यस्तै हेपटाइटिस बीबाट जोगिनका लागि डोल्पोबुद्ध गाउँपालिकाले आफ्नै लगानीमा दुईपटक खोप लगाउने काम भएको र अब तेस्रोपटक लगाउँदै गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिए । गाउँपालिकाले वैशाखमा बृहत् स्वास्थ्य शिविर राख्नका लागि पहल शुरु गरेको अधिकृत पङ्गेनीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्