Logo

संवैधानिक आयोगको नियुक्तिप्रति कांग्रेस नेता सिंहको आपत्ति



काठमाडौं, २१ माघ । संवैधानिक आयोगको नियुक्तिप्रति नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गम्भीर आपत्ति जनाएका छन् । उनले असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति एक विज्ञप्ती जारी गर्दै गम्भीर आपत्ति जनाएका हुन् ।

उनले संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित भ्रम नै संविधान हूँ भन्ने दम्भ उजागर भएको आरोप लगाएका छन् । सिंहले संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको जिकिर गरेका छन् । उनले आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्काे असंवैधानिक कदम भएको बताएका छन् ।

‘संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ ।’ कांग्रेस नेता सिंहले भने, ‘७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको छ ।’ अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ उनले भने ।

सिंहले सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको बताए । उनले भने, ‘अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ ।’ संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन सिहंले अपिल गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्