Logo

फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक



दैलेख, २१ माघ । शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्दैनन् । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन । अन्य मानिस सरह नै हिँडडुल गनुहुन्थ्यो । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा समस्या आएपछि खत्रीका दुःखका दिन शुरु भए ।

सत्र वर्षसम्म ठमठम हिँड्ने छोरा हिँडडुल गर्न नसक्दा आमाबाबु चिन्तित बने । छोराको उपचारका लागि विभिन्न अस्पतालमा गएर परीक्षण गराए पनि छोरालाई सञ्चो भएन । छोराको हाडजोर्नीमा समस्या छ । चिकित्सकले सजलैसँग सञ्चो हुँदैन भनेपछि घरमा बस्नुबाहेक अर्को विकल्प रहेन । सधँै काम गरेको छोरा हिँडडुल गर्न नसक्दा आमाबाबुलाई चिन्ता लाग्नु स्वभाविकै थियो ।

चक्रबहादुरले भने हिम्मत हारेनन् । तरकारी फलाएर पैसा कमाउने सोच बनाए। तरकारी खेतीतिर लागे । सोचलाई शक्तिमा बदले । फरक क्षमता भएका खत्री आजभोलि त्यही तरकारी खेतीबाट गाउँकै अगुवा कृषक कहलिएका छन् ।

खत्रीको तरकारी उत्पादन हेर्दा प्राविधिक कृषि विज्ञले नै उत्पादन गरेजस्तो देखिन्छ । ‘‘मैले लगाएको खेती देखेर कृषि कार्यालयका कर्मचारी नै छक्क पर्छन् । मैले एउटै बोट काउलीमा पाँचदेखि सात किलोसम्मको उत्पादन गरेको छु’’, उनी भन्छन्। उनको बारीमा आजभोलि गोलभेंडाको एउटै बोटमा लटरम्म दाना फलेका छन् । गोलभेंडाको एउटै बोटमा राम्रो फले २० किलोसम्म फलाउन सकिने उनको भनाइ छ । गोलभेंडाबाट सबैभन्दा बढी आम्दानी गर्न सकिने तरकारीमा पर्दछ ।

गाउँकै अगुवा कृषक कहलिएका खत्रीले तरकारी खेतीबाट वार्षिक रु तीन लाख आम्दानी गर्छन् । बाबुको हौसलाबाट तरकारी उत्पादनमा लागेको उनले बताउनुभयो । उनका बुबा कृषि कार्यालयमासहयोगी थिए । “बुबाकै प्रेरणा गर्दा आज म गाउँकै अगुवा कृषक भएको छु”, खत्रीले भने ।

मलबिना राम्रो उत्पादन गर्न नसकिने हुँदा खत्रीले तरकारी खेतीको लागि बाख्रा, भैँसी, गाई पालेका छन् । उनको १२ जनाको परिवार यही तरकारी खेतीबाट पालिएको छ । उनी भन्छन् “मैले छोराछोरी जहान परिवार यसैबाट पालेको छु । परिवारको सहयोगले नै मैले बारीमा विभिन्न प्रकारका तरकारी फलाउन सफल भएको छु ।”
खत्रीले चार रोपनीमा तरकारी खेती गरेका छन् । उनले बारीमा मौसमी बेमौसमी सिमी, आलु, गोलभेंडा, काउली, बन्दाकाउली लगाएका छन् । तरकारीले बारीका गह्रा हराभरा देखिएका छन् । दैलेख क्षेत्र–२ जाने मूलबाटोमै उहाँको तरकारीखेती भएकाले अधिकाँश हिँडडुल गर्ने बटुवालेसमेत खत्रीको प्रशंसा गर्ने गरेको छोरा ओम खत्रीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्