Logo

बन्दहडतालबाट अर्थतन्त्र थप जोखिममा



काठमाडौं, माघ २२। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आन्दोलनरत पुष्पकमल दाहाल तथा माधव नेपालको पक्षले बिहीवार आमहडतालको आह्वान गरेकोमा अर्थतन्त्रमा थप समस्या निम्तिने भन्दै निजीक्षेत्रले चिन्ता प्रकट गरेको छ ।

कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला आमहडतालले नराम्रो असर गर्ने बताउँदै बन्दहडताललगायत कार्यक्रमबाट मुलुकलाई थप संकटमा नधकेल्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले समस्त राजनीतिक दलहरूमा आग्रह गरेको छ ।

कोभिड–१९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्दहडतालजस्ता गतिविधिले थप जोखिममा पार्ने भन्दी उनीहरूले चिन्ता प्रकट गरेका छन् ।

तीनओटै संगठनले संयुक्त वक्तव्य जारी गर्दै चालू आर्थिक वर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने भएकाले राजनीतिक दलहरूलाई गम्भीर बन्नसमेत उनीहरूले अनुरोध गरेका छन् ।

विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई बन्दहडताल, चक्काजाम एवम् आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलनलगायत गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने उनीहरूको भनाइ छ । यस्तो विषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजीक्षेत्रको काम गर्न पाउनेलगायत नैसर्गिक अधिकार कुण्ठित नपार्न समेत निजीक्षेत्रको आग्रह छ ।

बन्दहडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्नेतर्फ समेत उनीहरूले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्