Logo

चुनौतीका चाङबीच बीमा समिति सम्हाल्दै सिलवाल



काठमाडौं, माघ २२। सरकारले बीमाक्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई नियुक्ति गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई समितिको आठौं अध्यक्षका रूपमा नियुक्त गरेको थियो ।

यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि उक्त पद गत पुस २३ गतेदेखि रिक्त थियो । सम्भवतः उनले अर्को हप्ता समितिको अध्यक्षका रूपमा कार्यभार सम्हाल्ने छन् । सोही दिनदेखि लागू हुने गरी उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि गृह, उद्योगजस्ता मन्त्रालयमा सचिव भएर प्रशासकीय क्षेत्रमा काम गरेका सिलवालका लागि बीमा समितिको अध्यक्ष चुनौतीपूर्ण देखिन्छ । उनीमाथि चुनौतीको चाङ नै भएको बीमाक्षेत्रका विज्ञहरू बताउँछन् ।

तत्काललाई कोरोना बीमाको दाबी भुक्तानीलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको छ । नेपालमा कोरोना विपद् भर्खर शुरू हुँदा जोखिमको कुनै पनि मूल्यांकन तथा एक्चुरियल प्रक्रिया नै पूरा नगरी शुरू गरिएको कोरोना बीमाको व्यवस्थापनमा अहिले साँच्चै नै चुनौती देखिएको छ । यसको दाबी भुक्तानीमा ठूलो चुनौती देखिएको बताइन्छ ।

दाबी भुक्तानीको काम भइरहे पनि धेरै बीमितहरूले भुक्तानी पाएका छैनन् । भुक्तानी दिएर पनि कम्पनीहरूको छवि बिग्रिसकेको छ । यस अवस्थामा नव नियुक्त अध्यक्ष सिलवाललाई कोरोना बीमाको व्यवस्थापन गर्न चुनौती हुने बीमाविज्ञ रवीन्द्र घिमिरे बताउँछन् ।

एक निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०ले पनि कोरोना बीमालाई व्यवस्थापन गर्न चुनौती देखिएको बताए । ‘अहिले कोरोना बीमाको व्यवस्थापनमा साँच्चै नै चुनौती छ । हामीले यसको दाबी भुक्तानी कुनै पनि हालतमा दिनुपर्छ,’ उनले भने, ‘तर, अहिले सहज रूपमा यसको भुक्तानी हुन सकेको छैन नै । यस मामलामा नव नियुक्त अध्यक्षले आवश्यक नीति बनाउनुपर्ने चुनौती छ ।’

नेपालमै बीमांकीय जनशक्ति ल्याउन तथा व्यवस्थापन गर्नमा पनि समितिको नयाँ अध्यक्षका लागि चुनौतीको विषय बनेको छ । बीमा समितिले बीमांकीको रोस्टर बनाउने भने पनि त्यो अझै पूरा हुन सकेको छैन । नयाँ बीमा कम्पनीहरूले बीमांकी नै पाउन मुश्किल छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot