Logo

सबै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजना



काठमाडौं, माघ २२ । सरकारले भौतिक पूर्वाधारको काममा प्राविधिक जनशक्ति अभाव हुन नदिने गरी सातवटै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय विस्तार गरेको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गत सातवटै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना गरिएको हो ।

सातवटै प्रदेशको प्रदेश राजधानीमा विभागले कार्यालय स्थापना गरी स्थानीय तहका प्राविधिकलाई थप प्राविधिक सहयोग गरी उहाँहरूको क्षमता अभिवृद्धि गर्न लागेको हो । सातवटै प्रदेशमा विस्तार गरिएको कार्यालयमा प्रदेश १ को इटहरी, २ को जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कार्यालय स्थापना गरिएको हो । सबै कार्यालय फागुन १ देखि कार्यान्वयनमा आउने स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक अशोककुमार शाहले स्थानीय तहमा भएका ठूला प्रकृतिका योजना, अन्तरपालिका जोड्ने योजना कार्यान्वयन गर्न प्राविधिक जनशक्ति अभाव हुन नदिने गरी सातवटै प्रदेशमा पूर्वाधार विकास आयोजना विस्तार गरिएको बताए ।

उक्त कार्यालयमा २८ जना कर्मचारीका दरले सातै प्रदेशमा गरी १९६ जनाको दरबन्दी स्वीकृत गर्न प्रस्ताव गरिएको छ । आवश्यकताका आधारमा अपुग कर्मचारी थप गरिँदै लगिनेछ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot