Logo

संवैधानिक आयोगका प्रमुखको शपथ ग्रहण कार्यक्रममा जे देखियो



काठमाडौं, माघ २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिश गरेका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपालको संविधानबमोजिम नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो ।

संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश जबराले र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ ग्रहण गराएका थिए । प्रधानन्यायाधीश जबराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रधानन्यायाधीश जबराबाट राष्ट्रिय दलित आयोगका नवनियुक्त अध्यक्ष देवराज विश्वकर्मा र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले पनि पद तथा गोपनीयताको शपथ लिए । उक्त समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नवनियुक्त प्रमुख आयुक्त राईले पद तथा गोपनीयताको शपथ गराए ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र डा जानकीकुमारी तुलाधरलाई शपथ गराएका थिए । राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त अध्यक्ष तपबहादुर मगरले नवनियुक्त सदस्यहरु सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिलीहजुर बस्न्यातलाई शपथग्रहण गराए ।

उक्त समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका सदस्यद्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगका सदस्यत्रय मीनादेवी सोब, टुञ्जे कामी र मेहले पार्की तथा राष्ट्रिय समावेशी आयोगका सदस्यद्वय रामचन्द्र जोशी र हरिदत्त जोशीलाई समेत सम्बन्धित निकायका प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका थिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot