Logo

कोलकाता आइपुग्यो ५० हजार मेट्रिक टन युरिया



काठमाडौं, माघ २३। भारतको कोलकाता बन्दगाहमा इतिहासमै पहिलोपटक एकसाथ ५० हजार मेट्रिकटन युरिया आइपुगेको छ । सरकारी अनुदानको मल आयात तथा विक्री गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन दुवैको अनुभवमा यति ठूलो परिमाणमा रासायनिक मल एकैसाथ आएको यो नै पहिलो पटक हो ।

यति मात्र नभएर कोलकाता बन्दरगाहका लागि पनि यो पहिलो अनुभव भएको बताइएको छ । आपूर्तिकर्ता कम्पनी जोशी बीज हाउसले आयात गरेको ५० हजार मेट्रिकटन युरिया मलमध्ये २० हजार मेट्रिकटन साल्ट ट्रेडिङ कर्पोरेशनको र बाँकी ३० हजार मेट्रिकटन कृषि सामग्री कम्पनी लिमिटेडको रहेको छ ।

दुवै कम्पनीको आपूर्तिकर्ता कम्पनी एउटै रहेको र उसले एकैपटक आयात गर्दा ठूलो परिमाण देखिन गएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सरकारी अनुदानको मल यति ठूलो परिमाणमा आउनु नेपालका लागि पहिलो त हो नै, कोलकाता बन्दरगाहका लागि समेत पहिलो घटना हो । ‘यसअघि मल आयात गर्दा सानोसानो परिमाणमा आयात हुन्थ्यो । यसरी ठूलो परिमाणमा आएको यो नै पहिलोपटक हो,’ उनले भने ।

उनका अनुसार साल्टले निरन्तर रूपमा आफ्नो जिम्मामा रहेको मल आयात गरिरहेको छ । कोलकातामा कुनै अवरोध नभएमा फागुनको दोस्रो सातासम्म साल्टले चालू आर्थिक वर्षका लागि आपूले आयात गर्न जिम्मा पाएको सबै मल आयात गरिसक्ने दाबी उनले गरे ।

सरकारी अनुदानको मलमध्ये साल्टले ३० प्रतिशत र बाँकी ७० प्रतिशत कृषि सामग्री कम्पनीले आयात गर्ने गर्छन् । यो मलको माग नहुने समय भएकाले नेपालमा यतिबेला पर्याप्त मल रहेको बताइएको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्