Logo

भागी विवाहले कानुन उल्लङ्घन



काठमाडौं, माघ २३ । कानुनअनुसार उमेर नपुगी विवाह गर्ने तथा गराउनेलाई कैद सजाय जरिवानाको व्यवस्था गरिए पनि बालविवाह रोकिएको छैन । कानुनले २० वर्ष उमेर नपुुगी गरिएको विवाहलाई वैधानिकता दिएको छैन ।

बालबालिका खोजतलास केन्द्रका प्रमुख रुद्रकुमार गिरीको अनुभवमा फेसबुकमा चिनजान भएपछि केटा र केटी विवाहका लागि भाग्ने तथा अभिभावकले हराए भनेर उजुरी गर्ने क्रम कोरोना महामारीमा भएको बन्दाबन्दीपछि बढेको छ ।

गत कात्तिकमा भएको काठमाडौँकै घटना सुनाउँदै उनले भने, “काठमाडौँ पशुपति आसपासकै १४ वर्षीया जुम्लिया किशोरी एकै पटक हराएको उजुरी केन्द्रमा आयो । केन्द्रले खोजी गर्दा एउटी किशोरी फेसबुकबाट चिनजान भएका कञ्चनपुरका १६ वर्षका किशोरसँग विवाह गरेर कञ्चनपुर पुगेको पाइयो भने अर्की कालोपुलका १७ वर्षका किशोरसँग गएको पाइयो । उनीहरू सबैको विवाह गर्ने उमेर नभएकाले परिवारमा पुनर्मिलन गराउन सफल भयौँ । ”

आर्थिक वर्ष २०७५/७६ देखि २०७७र/७८ को पुससम्मको नेपाल प्रहरीको तथ्याङ्क हेर्दा पनि उमेर नपुगी विवाह गर्नेको सङ्ख्या बढेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामै प्रहरीमा ५० वटा बालविवाहका उजुरी दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार आव २०७५/७६ मा ८४ वटा र २०७६/७७ मा ६५ वटा उजुरी दर्ता भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले पछिल्लो तथ्याङ्कले बालविवाह कानुनी रूपमा निषेध गरिए पनि पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग गरेर बालविवाह गर्ने क्रम बढेको बताए । पछिल्लो समयमा मोबाइल र फेसबुकको प्रयोग गरेर हुने बालविवाहले समस्या थपिएकाले यस्ता गतिविधि रोक्न विद्यालयले विशेष सचेतनाका कार्यक्रम राख्नुपर्ने देखिएको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्