Logo

नौमुरेको सम्भाव्यता अध्ययन अन्तिम चरणमा



काठमाडौं, माघ २३ । प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने ‘नौमुरे’ बहुद्देश्यीय आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्म आयोजनाको भौगोलिक अध्ययन, डिजाइन, ड्रिलिङ, लेआउटलगायतको काम सकिएको र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम भइरहेको आयोजनाका इन्जिनियर शङ्करबहादुर साउदले बताए ।

उनका अनुसार आयोजनाको सम्भाव्यता अध्ययनको काम चैतभित्र पूरा भइसक्नेछ ।कम्तीमा छ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिने भनिएको यो आयोजनाको लागत अनुमान एक खर्ब छ अर्ब रुपियाँ अनुमान गरिएको छ । आयोजनाअन्तर्गत नौमुरे, लामाताल र सुरइनाका गरी तीनवटा जलविद्युत् योजना बनाउने सरकारको योजना छ ।

आयोजनाको उत्पादन क्षमता २१८.३४ मेगावाट रहने र १६९ मिटरको ड्याम बाँधेर नौमुरेलाई जलाशययुक्त बनाउने प्रस्ताव गरिएको छ । नौमुरेमा मुख्य बाँध बनाउँदा करिब १८ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने आयोजनाको अध्ययन निष्कर्ष छ ।

त्यसैगरी लामातालमा सहायक बाँध वनाएर कपिलवस्तु र बडकापथ तथा प्रगन्ना र सिक्टा सिँचाइलाई पानी लैजाने गरी विद्युत् विकास विभागले अध्ययन गरेको इन्जिनियर साउदले बताए ।

यो बाँधले १।२२ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने इन्जिनियर साउदले बताए। यसबाट आठ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ । त्यस्तै लामातालबाट निस्केको पानी कपिलवस्तुको सुरइनाकामा लगेर अर्को विद्युत् गृह निर्माण गर्ने प्रस्ताव गरिएको छ । यसबाट ५४।७ मेगावाट बिजुली उत्पादन हुने आयोजनाको अनुमान छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot