एजेन्सी, २३ माघ ।रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले यसअघिको जेल सजायका बेला राखिएका सर्तहरू उल्लंघन गरेका भन्दै जेल सजाय सुनाइएको छ ।मस्कोस्थित एक अदालतले नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको हो । नाभाल्नीले यसअघि नै घरमै नजरबन्दमा एक वर्ष बिताइसकेका छन् । उक्त अवधिलाई जेल सजायबाट घटाइने जनाइएको छ ।
नाभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताएका छन् ।जर्मनीबाट रुस फर्केका नाभाल्नी जनवरी १७ देखि प्रहरी हिरासतमा छन् । गत सेप्टेम्बरमा भएको विष आक्रमणपछि जर्मनीमा उपचार गरेर फर्कने क्रममा नाभाल्नीलाई विमानस्थलबाट पक्राउ गरिएको थियो ।
पक्राउपछि नाभाल्नीका समर्थकहरूले उनको रिहाइको माग गर्दै रुसका विभिन्न सहरहरूमा प्रदर्शन गर्दै आएका छन् । बुधबारको प्रदर्शनका क्रममा प्रहरीले कम्तीमा १ हजार ४ सय जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । राजधानी मस्कोमा प्रहरीले प्रदर्शनकारीलाई लाठीचार्ज गरेको थियो ।
राजधानी मस्को र सेन्ट पिटर्सबर्गमा प्रहरीको बाक्लो उपस्थितिका बाबजुद सयौं मानिस विरोधमा उत्रेका थिए । अनुगमनकर्ताहरूका अनुसार मस्कोमा मात्रै ८ सयभन्दा बढीलाई गिरफ्तार गरिएको छ । सामाजिक सञ्जालमा देखिएका भिडियोमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको र पक्राउ गरिरहेको देखिन्छ ।
नाभाल्नीले आफूले पिएको चियामा रुसी राष्ट्रपति भ्लादिमुर पुटिनको निर्देशनमा षड्यन्त्रपूर्वक विष मिलाइएको बताएका छन् । अदालतमा नाभाल्नीले राष्ट्रपति पुटिनलाई ‘विष दिने व्यक्ति’ भन्दै आफूमाथिको हमलाको दोष लगाएका थिए । तर क्रेमलिनले आफ्नो संलग्नता यसअघि नै अस्वीकार गरिसकेको छ । यसअघि रुसी अधिकारीहरूले नाभाल्नीविरुद्ध आर्थिक हिनामिनाको मुद्दामा अनुसन्धान भइरहेको र उनी छिट्टै जेल जान सक्ने चेतावनी दिँदै आएका थिए । तर, आफूलाई फसाउने उद्देश्यले आधारहीन आरोप लगाइएको नाभाल्नीको दाबी छ ।-Photo: Agency