Logo

‘कम्युनिस्टको मात्रै होइन, हामी देशकै मूलपार्टी हौं’



काठमाडौं, माघ २४ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी भएको बताएका छन् । नेकपा विभाजित भएर दुवै समूहले मुख्य नेकपा आफ्नै भएको दाबी गरिरहेको समयमा अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा रहेको नेकपा नै मूल पार्टी भएकाले भ्रममा नपर्न आग्रह गरे ।

नेकपाको बाग्मती प्रदेश कमिटीद्धारा शुक्रबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यक्रममा उपस्थित भएको अपार जनसमूहले नै आफ्नो नेतृत्वको नेकपालाई मुख्य पार्टीको मान्यता दिएको दाबी गरे ।

‘इतिहासमा नै यति ठूलो जनसभा पहिलोपटक भएको छ, यति धेरै कार्यकर्ता भेला भएर हाम्रै नेकपालाई मूल पार्टी भएको सन्देश दिनुभएको छ त्यसैले अब कोही अलमलमा नपरे हुन्छ, हामी रहेको नेकपा नै मूल नेकपा हो,’ अध्यक्ष ओलीले भने । जनसभामा देशका विभिन्न जिल्लाबाट आएका हजारों कार्यकर्ताको सहभागिता थियो ।

‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन, अरूलाई जुन ठाउँ पनि ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ । हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं तर यहाँ पनि मान्छे अटेका छैनन्,’ अध्यक्ष ओलीले भने, ‘फेरि मान्छेहरू सोधिराख्या छन्, मूल पार्टी कुन हो भनेर? त्यसैले अब कोही पनि अलमलमा नपरे हुन्छ, हामी जहाँ छौं, त्यही पार्टी नै मुख्य नेकपा हो ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफू नेतृत्वको नेकपाले मात्रै देशको स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्ने बताए । अध्यक्ष ओलीले आफू नेतृत्वको नेकपा नै देश बनाउने र देशको रक्षा गर्ने पार्टी भएको जिकिर गरे ।

‘देशको स्वाधीनताको रक्षा गर्ने र ठीक ढंगले अगाडि बढाउने पार्टी पनि यही हो,’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रका लागि सात दशकभन्दा बढी लडेको, लोकतन्त्र ल्याउनका लागि सबैभन्दा अहं भूमिका खेलेको, देश बनाउने संकल्प बोकेको र सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा बोकेको पार्टी हाम्रै नेकपा हो ।’

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको आफ्नो निष्ठामा किञ्चित पनि कमी नआउने भन्दै गलत अफवाह नफैलाउन चेतावनी दिए । उनले आफू लोकतन्त्रका लागि अन्य नेताभन्दा बढी समय लडेको स्मरण गर्दै कसैले पनि लोकतन्त्र खोस्न नसक्ने र आफू लोकतन्त्रको रक्षाका लागि अविचलित रूपमा लागिपरिरहने बताए ।

उनले काम गर्न नपाएपछि संसद् विघटन गरिएको स्पष्ट पारेकोे आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्