Logo

ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैनः नेपाल



काठमाडौं, माघ २४ । नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लाद्न खोजेको र पार्टी मात्र होइन, देश नै कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले शुक्रबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा आफूहरू विधि, नीति र पद्धतिअनुसार पार्टी चल्नुपर्छ भन्ने पक्षमा रहँदारहँदै पनि ओलीले पार्टी फुटाएको आरोप पनि लगाए । उनले आफूहरू विचारको लडाइँमा रहेको र व्यक्तिपूजामा केन्द्रित नभएको बताए । व्यक्ति भनेको कोही नरहन सक्छ तर विचार सधैं रहने भएकाले विचार र सिद्धान्तमा केन्द्रित भएर आफूहरू आन्दोलनमा होमिएको उनले प्रस्ट्याए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै चक्रपथमा सेनाका बख्तरबन्द गाडी घुमाउँदैमा कोही नडराउने बताए । केही दिनअघि रातिको समयमा काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी घुमाइएको थियो । त्यसतर्फ संकेत गर्दै नेपालले प्रधानमन्त्री ओलीले आफूसँग सहमत नहुनेलाई तर्साउने कोसिस गरेको तर त्यसबाट कोही पनि नतर्सिने प्रतिक्रिया दिएका हुन् । ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन’, अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले ओलीलाई लक्षित गर्दै पार्टीबाट चोइटिएर जाने भए गए हुने बताए । ‘कसैलाई चोइटिएर जाने इच्छा भए गए हुन्छ, बालकोटमै पार्टी बनाएर त्यहीं बसे हुन्छ,’ उनले भने । उनले ओलीको प्रतिनिधिसभा विघटनलगायतका गलत कदमविरुद्ध आफूहरू चुप लागेर नबस्ने बताए ।

‘केपी ओलीले जे–जे गर्छन्, हामी तमासा हेरेर बस्दैनौं । हामी उनको असंवैधानिक कदमविरुद्ध, प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर सडक आन्दोलनमा छौं,’ नेपालले भने । ओलीको गलत प्रवृत्तिको एकएक हिसाब इतिहासले लिने पनि उनले बताए । अध्यक्ष नेपालले आफूहरूले माघ २८ गते बृहत् विरोध कार्यक्रम गर्न लागेको जानकारी पनि दिए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot