काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा उत्रिने र आवाज उठाउने हिम्मत गरेको भन्दै नागरिक समाज, बुद्धिजिवी, मिडिया सबै मिलेर सहकार्य गर्नुपर्ने बताएका छन ।
आज (शनिबार) काठमाडौंमा मिडिया एलायन्सका पदाधिकारीसँगको अन्तरक्रियामा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीमा एक किसिमको दम्भ र घमण्ड रहेको पनि टिप्पणी गरे । उनले भने–‘केपी ओलीजीमा केही किसिमको दम्भ छ । आई एम त स्टेट । आई एम द पार्टी भन्ने छ । म्यादी प्रहरीको भर्ना खुलेझैं केन्द्रीय कमिटीमा सदस्यहरु थप्नुभयो । उहाँले एकपछि अर्को गलत काम गरेकोले हामीले आवाज उठाएका हौं । हामीले बैठकको माग गर्यौं । जोखिम मोलेर आँट गरेको हो । कुर्सी ताक्नेको कुर्सी नै भाँचिदिन्छु भन्नुभयो । उहाँ लोकतन्त्र र निर्वाचनको भर्यांग चढेरै नै आएको हो । असंवैधानिक कदमको विरुद्धमा आवाज उठाउन हिम्मत गर्यौं ।’
उनले भनेका छन–‘शासक राम्रो हुनुपर्छ । पहिलो कुरा सचेत, खबरदारी गर्नु हो । तपाईँहरु पनि राष्ट्रिय दायित्वलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । डेमोक्रेसीको विषय हो । संविधानको रक्षाको विषय । परिवर्तनको विषयमा अघि बढनुहोस । यो देश राम्रो बनोस् । झगडा नगरेर किन खुरुखुरु मान्दै गईस ? भनेको पनि सुनियो, भित्रै पीडा राख्दै गयौं । भित्रको कुरा भित्रै राखौं भन्यो । १९ पाने, ३८ पाने कुरा बाहिर आउको छ । तर, दश पाने र २ पानेको कुरै आउँदैन् । पार्टीमा छलफल गरौं भनेर माग गर्नु गलत हो ? निर्मला हत्याकाण्डको कुरा, प्रशासनको विषयवस्तु होस् । विकास योजनाका कुरा, यसको कार्यान्वयनका कुरा गर्नु गलत हो र ? जनताका गुनासा उठाउनु हाम्रो दायित्वपनि हो । यो कुरा उठाउनु नै अपराध हो ?’
नेता नेपाले मिडियामा एक खर्बभन्दा बढि लगानी रहेको सन्दर्भमा यसलाई हुर्काउन र जोगाउने विषयमा आफूहरुले पनि सोच्ने विश्वास दिलाए । उनले भने–‘डेमोक्रेसीमा मुलुक गएन भन्ने कुरा उठाउनुभयो । संविधानको पक्षमा हामी छौं । तपाई र हामीबीच सहकार्यको आवश्यकत्ता छ । संवैधाननिक आतंकको विरुद्धमा हामी हातेमालो गर्दै अघि बढ्नुपर्छ । मिलेर जानुपर्छ । तपाईँहरुको भूमिका अत्यन्तै महत्वपूर्ण छ । हामी पूर्वाग्रह राख्दैनौं । हामी डेमोक्रेसीको पक्षमा छौं । प्रवृत्तिसँग लडिरहेका छौं । कुर्सी लत्याएको ईतिहास छ । तर, यहाँ केही मासिन बाहिर हुँदा आदर्शको कुरा गर्छन्, तर पावरमा पुगेपछि करप्ट हुन्छन् । तर हामी पारदर्शीताको वकालत गर्छौं ।’ File Photo/ReportersNepal