काठमाडौं, २४ माघ । बैतडीको चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता लगाउन सरकारमाथि दबाब बढेको छ । आज नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले घटनाको दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरिसकेका छन् ।
गत बुधबार विद्यालयबाट घर फर्कने क्रममा हराएकी भागरथीको शव बिहिबार दिउँसो जङ्गलको झाडीमा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । त्यही आधारमा ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको बुझिएको छ ।
यसैगरी, नेकपाको प्रचण्ड-नेपाल समूहका सुदुरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले घटनाको निन्दा गर्दै तुरुन्त दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन्ः बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कार पछि हत्या घटनाको निन्दा गर्दै हाम्रो पार्टीका अध्यक्षद्वयले दोषीलाई कार्वाईको माग गरिसक्नु भएको छ।म उक्त घटनाको भर्त्सना गर्दछु।घटनाको तुरून्त अनुसन्धान गरी दोषीलाई कडा कानूनी कार्वाई गरियोस् ।