Logo

बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा



काभ्रे, २५ माघ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेशिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गरेका छन् । वर्षौंदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर बालुवा चाल्दै त्यसबाट आएको पैसाले उहाँको पाँच जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।

कमाई खाने खेतबारी नै नभएको उनको परिवारको दैनिकी नै बिहानदेखि बेलुकासम्म घरतलको डुम्रेबगरमा बालुवा चालेर बित्ने गर्दछ । चालेको बालुवा बिक्री गरेर आएको पैसाले नै पुर्खौंदेखि परिवार चल्दै आएको मिश्राले बताए । “हाम्रो जगरबगर पुर्खौंदेखि मर्दादेखि जीवन गुजारा गर्नेसम्मको यही ठाउँ भएकाले यसमा कसैले पनि कब्जा जमाउन पाउँदैन”, उनले बिलौना गर्दै भने, “हामी गरीबको हातमुद जोड्न आम्दानीको एक मात्र विकल्प रहेको बगर नै डोजरले जोतेर ध्वस्त बनाउँदै हामीलाई खुट्टासमेत टेक्न नदिने भएपछि कसरी परिवार पाल्ने ?” अरु आम्दानीको कुनै स्रोत नभएको र खानासमेत धौधौ भइरहेको परिवारलाई गरिखाने ठाउँमा नै खुट्टा टेक्न नदिने भएपछि कहाँ गएर कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको उनको भनाइ छ ।

न त कुनै व्यवसाय नै छ, न त पेट पाल्नलाई अरु विकल्प नै । त्यही सावेल चलाएर पसिना बगाएर खाना पाउनुपर्छ भन्दा कसैले पनि आफूहरुको कुरा नै नसुनेको दुखेसो उनी गर्छन् । “धेरै पैसा र पहुँच भएकाले विभिन्न खोलाका बगरमा ठूलाठूला मेशिन चलाएर ठूलो आम्दानी गर्छन् भने हामीले पसिना बगाएर खानसमेत नपाउने अवस्था आयो”, गहभरी आँसु पार्दै उनले थपे, “ढुङ्गाको सिरानी, बालुवाको ओछ्यान गरेर रातदिन यही बगरमा दुःख गरेर खाँदै आएको ठाउँसमेत खोस्ने काम भएको छ ।”

सोही गाउँका अर्का ६१ वर्षीया आहुती माझीले गाउँभरीकै माझी परिवारको कमाई खाने एकसुर्को मात्रै बारी भएको र त्यसले दुई महिना पनि खाना नपुग्ने भएकाले पुर्खौंदेखि त्यही बगरमा पसिना बगाएर परिवार पाल्दै आएको बताए । “यही बगरमा पसिना बगाएर नून, तेल ल्याइदिने कर्मथलोमाथि अर्कैले आएर हडपेपछि अब हामी कसरी बाँच्ने”, उनले पीडा पोख्दै थपे, “पहिला पहिला त यही बगरमा कमाएर खान्थ्यौँ, दुई वर्ष भयो खाने थलो नै अरुले आएर रजाइ गरेको, अब हामीले कसरी जीवन धान्ने ?”

सो ठाउँमा काम गरी दिनको रु ५०० देखि एक हजारसम्म कमाई हुने गरेको कर्मथलोमा बाहिरबाट मेशिन ल्याएर जोत्न थालेपछि आफूहरुको दैनिकी गुजारा गर्न ठूलो समस्या भएको अर्का स्थानीय बासिन्दा कान्छा माझीको भनाइ छ । सोही गाउँका युवा राजन माझीले आर्थिक अभावकै कारण दोलालघाटस्थित दुलालेश्वर माविमा कक्षा १० पढ्दापढ्दै विद्यालय छोडेर त्यही बगरमा बालुवा चाल्ने काममा घरपरिवारलाई सघाउन थालेको काम पनि अब खोस्ने यो भन्दै दुखेसो पोखे ।

स्थानीय प्रदीप माझीले आफूहरुको पेशा खोसेको भन्दै वडा कार्यालयदेखि गाउँपालिकासम्म पुगेर समस्या राख्दा पनि आफूहरुको कुरा नै सुनुवाइ नभएको गुनासो गरे। “एकातिर पढ्ने मान्छे हाम्रो समुदायमा नहुनु, अर्कोतिर आिर्थक अभावमा पिल्सिएर रहेका समुदायको समस्या सरकारले पनि नदेखेको जस्तो गर्नु”, उनले भने, “जसरी भए पनि हामी हाम्रो पेशा गरेर खाने ठाउँलाई अरुलाई आएर बिथोल्न दिदैनौँ ।” हिजोदेखि जसरी काम गरेर खान पाएको अवस्था थियो, त्यसरी नै काम गरेर खाना पाउनुपर्ने उनीहरुको भनाइ छ । दुई वर्ष अगाडि पनि त्यही ठाउँमा अहिलेकै जस्तो गरेर काम गर्ने थलो खोस्न थालेपछि आफूहरुले गाउँपालिकामा गएर ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाको ध्यानाकर्षण गराएको उनीहरुको भनाइ छ । यदि आफूहरुले भनेजस्तो काम गरी खाने ठाउँ दिँदैन र कर्मथलो नै लुटिन्छ भने जस्तोसुकै सङ्घर्ष गर्न पनि तयारी हुने उनले बताए । रासस  फाइल तस्विर



प्रतिक्रिया दिनुहोस्