Logo

किन आँसु थाम्न सक्दैनन् नेताहरु ?



काठमाडौं, २५ माघ । के सत्ता चलाउनेहरु भावनामा डुब्न पुग्छन् ? भनिन्छ भावनामा परेमा सत्ता चलाउन सहज हुँदेन । राजनीतिको उचाईमा पुगेकाहरुको मुटु दरिलो हुन्छ र भावनामा पर्न चाहँदैनन् । तर, यति भन्दा भन्दै अनायासै भावुक बन्न पुग्छन् । यस्तै भए प्रधानमन्त्री केपी शर्मा ओली ।

२३ माघमा नेकपाको आफ्नो समूहले आयोजना गरेको जनसभामा ओली भावुक भए । भाषणका दौरान उनी बोल्नै नसक्ने गरी रोक्किए । उनको पक्षमा नारा लाग्न थालेपछि झन् भावुक भए । आँखाबाट आँसु झरेपछि चश्मा झिकेर सेतो रुमालले पुछे । उनले चीसो लाग्यो मात्र भने । वास्तमा ओली भावुक भएर रोएकै थिए । यसको पुष्टि उनका प्रेस सल्लाहकार सुर्य थापाले गरिसकेका छन् ।

विगतमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आँसु निकालेको धेरै घटना छ । जनयुद्धताका सांस्कृतिक कार्यक्रम हेर्दा हेर्दै प्रचण्ड भक्कानिएर रोएका थिए । तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई पनि रोएको इतिहास साक्षी छ । त्यतिबेला हिंसात्मक गतिविधिमा लागेको माओवादीको नेतृत्वको टोली नै रोएको थियो ।

प्रचण्डलाई कतिपयले क्रुर नेताको आरोप लगाउँछन् । उनको बोली र व्यक्तित्व आक्रामक देखिन्छ । तर, उनी निकै भावुक छन् । प्रचण्डले सार्वजनिक कार्यक्रममा पनि आँसु निकालेका छन् ।

विगतमा कृष्णप्रसाद भट्टराई पनि संसदमा आँसु निकाल्न पुगेका थिए । उनले अविश्वासको प्रस्तावको सामना गर्दै जवाफ दिने क्रममा आँसु झारेका थिए । गलत आरोप लगाएर मारिएका भीम मल्लकी पत्नी सती बन्दा सरापेको विषय उठाएर भक्कानिएका थिए ।

गिरिजाप्रसाद कोइराला पनि संसदमा बोल्दा बोल्दै भावुक बनेका थिए । उनलाई कठोर मुटु भएको नेता भनेपनि भावुक पनि हुन्थे ।
गणेशमान सिंहले आँसु झार्दै काँग्रेस छाडेको इतिहास साक्षी छ । उनलाई पनि भावुक नेता मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot