Logo

सन्तान हुनुको गर्वानुभूति



– गोपालप्रसाद बराल, महोत्तरी, २६ माघ । पिताको काख गुमेको पीडा छ, शोक छ, तर उमेरले ५० वर्ष कटेकी शैल साहलाई यसै पीडा र शोकभित्र सन्तान हुनुको गर्वानुभूति छ । बाबुआमाकी एक्ली सन्तान शैललाई अहिले पिताको निधनसँगै उनको अरथी आफ्नो काँधमा उठाउने, चितामा दागबत्ती दिने र पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान हुनुको गर्वानुभूति भएको हो । पिता सर्युग साहको अरथी उठाएर दागबत्ती दिँदै मृत्यु कर्मको मुख्यकर्तामा आफू बसेको दुःखद् क्षणमा शैलले बल्ल आफूले सन्तान भएको महसुस गरेको बताए ।

“बाबु गुमाएकी छु, पीडामा छु, प्यारो काख गुमेको छ”, आइतबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिकामा पर्ने जलाद नदी तटको घाटमा स्वर्गीय पितालाई दागबत्ती दिएकी शैलले भने, “यद्यपि बुबाको अरथी आफ्नै काँधमा उठाएर दागबत्ती दिँदा आपू सन्तान भएको गर्व गरेँ ।” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का स्थायी बासिन्दा ८५ वर्षीय पिता सर्युगको शनिबार राति निधन भएपछि एक्ली सन्तान शैलले आइतबार अरथी उठाउनदेखि दागबत्ती दिने र मुख्यकर्ता भई पिताको मृत्यु संस्कारमा सहभागी भएका थिए ।

यसअघि पितालाई उपचारका लागि जनकपुरदेखि काठमाडौँसम्म लिएर गएकी शैलले काठमाडौँबाट फर्कँदै गर्दा बाटोमै शनिबार राति निधन भएको क्षण अत्यन्त पीडादायी भएको बताए । “एक दशकअघि आमा फूलकुमारी साहको निधन हुँदा मैले यो अवसर पाइँन”, पिताको वियोगमा बलिन्द्र धारा आँसु काढ्दै शैलले भने, “अहिले पिताको पालामा भने बल्ल सन्तान बन्न सकिछुु ।” आमाको निधन हुँदा आफूले चाहे पनि त्यतिखेर समाजले त्यो अवसर नदिँदा कुँडिएको चित्तलाई अहिले बाबुको पालामा पाएको अवसरले मलमको काम गरेको शैलको भनाइ छ । शैलकी आमाको अरथी उठाउनदेखि दागबत्ती दिने र मृत्यु संस्कारको मुख्यकर्ताको भूमिका त्यतिखेर काकाका छोरा भाइले गरेका थिए ।

एक दशकअघिको सामाजिक रीतिथिति र विश्वासभन्दा समाज अघि बढेको शैलको ठम्याइ छ । “मैले आमालाई आफैँ दागबत्ती दिन्छु, मृत्यु संस्कार )क्रियापुत्री बस्नु) को कर्ता हुन्छु भनेँ” एक दशकअघिको घटना सम्झँदै शैलले भने , “मेरो आफ्नै माइती ठाउँमा सारा पुकार व्यर्थ गयो ।” आइमाइले पनि अरथी उठाउने, दागबत्ती दिने र कर्ता हुने कहीँ हुन्छ भनेर आफूलाई उल्लीबिल्ली पारेको शैलले सम्झे । रासस



प्रतिक्रिया दिनुहोस्