भरतपुर, २६ माघ । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको बताए ।
उनले हनुमान र लक्ष्मणको बन्दै गरेको जानकारी दिए। उनले भने, “प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ । दुवै मूर्ति तयार गरेर बालुवाटारमा राखिएको छ ।” नेता विष्टले आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना रहेको जानकारी दिए । माडीका स्थानीय नेतासँगको भेटमा प्रधानमन्त्रीले आफैँ तयारी अवस्थामा रहेको राम र सीताको मूर्ति देखाएका थिए । प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत् गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए । “अयोध्यापुरी अब विश्वभरका हिन्दू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्को गन्तव्यस्थान हुनेछ, पर्यटकीयस्थल हुनेछ । धेरै तीर्थालु भक्तजनको त्यहाँ गन्तव्यस्थल हुनेछ”, उनले भने, “हामी रिउअर्थात सरियू नदी त्यसको व्यवस्थापन, पुलहरूको व्यवस्थापन, नदीहरूको तटबन्धको व्यवस्थापन आदि गर्नेछौँ । मैले भनी राख्नुपर्लाजस्तो लाग्दैन यो भूमि असाधारण सम्भावना बोकेको भूमि हो ।” उहाँले माडीमा अयोध्याधाम बनाउन स्थानीय क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले भने खासै चासो नदिएको बताए ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडी–९ को कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरिएको तर कुनै निर्णय नभएको बताए । उनले औपचारिकरूपमा अयोध्याधाम पनि घोषणा हुन बाँकी रहेको जानकारी दिए । उनले भने, “राम मन्दिरसँगै सुकुम्वासी, चेपाङको घर बनाउन पनि प्रस्ताव गरेका छौँ ।”
नेकपा भरतपुरका अध्यक्ष राम न्यौपानेले आफूहरुले काठमाडौँ जाँदा राम र सीताको मूर्तिबारे जानकारी लिएर आएको बताए । उनले भने, “राम मन्दिर कहाँ बनाएर मूर्ति कता प्रतिस्थापन गर्ने भन्नेबारेमा पुरातत्व विभागले थप अध्ययन गरिरहेको छ । माडी नगरपालिकामा पनि यसबारेमा छलफल हुँदैछ । प्रधानमन्त्री माडीमा अयोध्याधाम बनाउन दृढरूपमा लागेको हामीले पाएका छौँ ।” रासस