Logo

भारतमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या



काठमाडौं, २६ माघ । भारतको बिहार राज्यमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बिहारको चम्पारण जिल्लामा मजदूरीका लागि पुगेको नेपाली परिवारलाई अहिले विपत्ति आइलागेको छ । गत जनवरी २१ तारिखमा घटना भएको हो ।बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का एक नेपालीको परिवार मजदूरीका लागि त्यहाँ पुगेको थियो । सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्थे ।

२१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको शिलशिलामा बजार गएका थिए । साँझ चार बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे । उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे ।बहिनीको यस्तो हालत देखेपछि उनले बुवालाई खबर गरे । काम छोडेर उनी तत्काल डेरामा आए । उनले छोरीको उपचारका लागि स्थानीय डाक्टर कहाँ पु¥याए तर, कसैपनि उपचार गर्न मानेनन् ।

उनले १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेको बीबीसी हिन्दीले जनाएको छ । उपचार नपाएपछि ती बालिकाको मृत्यु भयो । मृत्युपछि गाउँका युवाहरू भेला भए ।

पीडितका बुवाका अनुसार प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको लास जबरजस्ती जलाउन लगाए । स्थानीय देवेन्द्रकुमार साहले बालिकाको शव तत्काल नजलाए बाबु र छोरालाई पनि मारेर लास नेपाल फालिदिने धम्की दिएको निवेदनमा उल्लेख छ ।

शव जलाउनुअघि पीडितका बुवालाई उनीहरूले खाली कागजमा साइन गर्न पनि लगाएका थिए । राति १२ बजे छोरीको लासमा नुन र चिनी छर्केर जलाइयो । अर्को दिन बिहान मलाई नेपालतिर पठाइयो उनले निवेदनमा उल्लेख गरेका छन् ।

प्रारम्भिक अनुसन्धान र केही दिनअघि लिक भएको एउटा अडिओले उक्त घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखले सघाएको खुलेको छ । पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले भाइरल अडियोबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरवाही र कर्तव्यहिनता स्पष्ट भएको बिबिसीलाई बताएका छन् ।

भाइरल भएको एउटा अडियोमा ‘सञ्जीवकुमारले एक जना अभियुक्तलाई केटीको लासको व्यवस्था गरिदेउ र चिसोका कारण मृत्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेउ’ भनिएको छ ।

घटना भएको १२ दिनपछि परेको उजुरीमा ११ जनालाई अभियुक्त बनाइएको छ । त्यसमध्ये ५ जनालाई सामुहिक दुष्कर्म र हत्याको आरोप लगाइएको छ भने सात जनालाई प्रमाण नष्ट गरेको आरोप छ । प्रहरीले २ जनालाई पक्राउ गरिसकेको छ ।दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्