काठमाडौं, २६ माघ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले संविधानअनुसार चल्ने हो भने संसद पूनःस्थापना हुने प्रतिक्रिया दिएका छन् । तर, आफूहरु सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने र त्यो फैसला र निर्णयलाई मान्ने कर्णको भनाई छ ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सर्वोच्च अदालतको फैसलालाई सम्मान नगरिए त्यो ठूलो एनार्की हुने दाबी गरे । अदालतले कसैको पक्षमा हुने नभएर कानून र न्यायको पक्षमा हुने उनको भनाई छ । उनले भने,‘अदालत फलानाको पक्षमा हुन्छ, वा अर्कोको पक्षमा हुन्छ भनेर कल्पना नगरौं ।’ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक नै भएको कर्णको जिकिर छ । उनले अहिले देशका विभिन्न कुना÷काप्चामा पनि ओलीको कदमको विरोध भएको सुनाए ।
दुई तिहाईको प्रधानमन्त्रीले जनतामा जान्छु भनेर भन्न नपाउने ? भनेर सोधिएको प्रश्नमा उनले भने–‘झगडा भएपनि पार्लियामेन्टमा होस् । संसद पूनःस्थापनाको विकल्प छैन् । तर, यो हाम्रो सुझाव हो । हामी अदालतको पक्षमा छौं । सर्वोच्च अदालतको फैसलाअनुसार चल्छौं ।’