Logo

भागीरथी हत्या प्रकरण: पाँच दिनसम्म पनि हत्यारा पत्ता लागेन



बैतडी, २६ माघ: प्रहरीले घटनालाई गम्भीररुपमा लिएको बताए पनि घटना भएको पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन । घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । अनुसन्धान र अध्ययनका लागि हाम्रो माथिल्लो निकाय पनि परिचालन भएको छ उनले भने, “दोषीलाई पत्ता लगाउन हाम्रो सबै शक्ति लागिपरेको छ, छिट्टै पत्ता लाग्नेछ ।”

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका साथै तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो । यस क्रममा किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकोले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।

किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेको छ । आइतबारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरिएको सङ्घर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए ।

सङ्घर्ष समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आम हड्ताल गर्ने घोषणा गरेको छ । यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए ।

भागरथीले न्याय पाउनुपर्ने र दोषीलाई पत्ता लगाउन मागसहित जिल्लास्थित राजनीतिक दल पनि एक ठाउँमा उभिएका छन् । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि ¥यालीसहित दोषीलाई यथाशीघ्र पक्राउको माग गर्दै नाराबाजीसमेत गरिएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्