Logo

गरिब रुवाउँदै मिटरब्याजी



महोत्तरी, २७ माघ । सुरजले रोजगारीको खोजीमा विदेश जाने योजना बनाए। उनले पासपोर्ट एजेन्टलाई दिए। पासपोर्टमा भिसा लाग्यो। साउदी जाने दिन पनि जुर्‍यो। तर, एजेन्टलाई दिने रकम जुटेन। उनकी सासू सञ्जिला मण्डलले ज्वाईंको दुःख देख्न सकिनन्। महोत्तरी भंगहा–५ सिद्धपुरकी उनी गाउँकै महाजन अनुरुद साहको घरमा पुगिन्। सँगै गए उनका पति जैयनाथ मण्डल।

अनुरुदलाई ५० हजार कर्जा मिलाइदिन सञ्जिलाले बिन्ती गरिन्। ‘हजुर १ मेरो ज्वाई विदेश जाँदै छ। हातमा उड्ने रुपैयाँ भएन’, उनले दुवै हात जोड्दै जसरी पनि रकम मिलाइदिनु पर्‍यो भनिन्। मागेको कर्जा अनुरुदले दिए। तर सर्त राखे, सयकडा ३ रुपैयाँ ब्याज तिनुपर्ने। साउन १५ गते पति जैयनाथ मण्डलको नाममा कपाली तमसुक लेखेर सञ्जिलालाई ऋण दिए।

उनका ज्वाइँ सुरज कोरोना कहरबीच भदौमा साउदी उडे। ४ महिनापछि ऋण तिर्न ७० हजार पठाए। रकम लिएर सञ्जिला अनुरुदको घर गइन्। तिर्नुपर्ने १२ लाख १८ हजार ९ सय ९० रुपैयाँ भइसकेछ। यस्तो सुनेर उनी चकित परिन्। हिसाब बुझाउँदै अनुरुदले ९ लाख ९० हजार साँवा र २ लाख २८ हजार २ सय ५० रुपैयाँ ब्याज भनेपछि उनको होसहवासै उड्यो।

भक्कानिँदै पीडित सञ्जिला मण्डल

‘मैले ५० हजार मात्रै ऋण लिएको थिएँ। कसरी भयो १२ लाख रु’ सञ्जिलाले जान्न चाहिन्। उनलाई जवाफ दिनुको सट्टा घरबाट निस्किहाल नत्र लात हान्छु भन्दै अनुरुदले धम्काए र जलेश्वर अदालतमा पैसा बुझाउनु भने। उनी दुःखी हँदै घर फर्किइन्।

सञ्जिलाले ऋण लिएको जम्मा ५० हजार। तर २५ जेठ २०७५ को पुरानो मिति राखेर अनुरुदले उनका पति जैयनाथको नाममा २० गुणा बढी कपाली कागज गराएको सञ्जिलाले थाहा पाइन्। ९ लाख ९० हजार ऋण लिएको कपाली तमसुक अनुरुदले अदालतमा पेस गरे। यसको ब्याजसहित असुलउपर गराउन जैयनाथविरुद्ध उनले असोज २२ गते जिल्ला अदालत जलेश्वरमा मुद्दा दर्ता गरिसकेका रहेछन्। ऋण लिएको भन्दा झन्डै १२ लाख बढी तिनु पर्ने भएपछि, न्यायका लागि उनी सबैसँग गुहार माग्दै छिन्।

सञ्जिलाका पति जैयनाथ भारतको मद्रासमा छन्। लिँदै नलिएको कर्जा तिर् भन्दै मिटरब्याजी साहुले अदालतमा मुद्दा हालेपछि सञ्जिला तारिख धाइरहेकी छन्। ‘मंसिर र पुसमा अदालत गएर तारिख लिएँ। अब अदालत जाने बसभाडा पनि छैन। साँझ, बिहान छाक केले टार्नु रु’ उनले रुँदै भनिन् । अनुरुदले गरेका ठगीको यो एउटा प्रतिनिधि घटना मात्रै हो। उनले महोत्तरी, धनुषा र सर्लाहीका दर्जनौं गाउँका सयौं गरिबलाई रुवाएका छन्। थोरै ऋण दिएर २० गुणासम्म कर्जा दिएको कपाली तमसुक बनाई करोडौं ठगिसकेका छन्। उनले यस्तो धन्दा चलाउन थालेको १५ वर्ष बितिसक्यो।

अदालतमा मुद्दा हालेर अनुरुदले सञ्जिलाका आफन्त मीनादेवी मण्डलको ४ कट्ठा र जिबच्छी धानुकको ११ कट्ठा जमिन रोक्का गराएका छन्। आफन्तले पनि ऋण तिरेर चाँडै फुकुवा गराउन दबाब दिएपछि उनी झनै तनावमा छिन्।

अनुरुदको ठगीले सञ्जिला मात्र होइन, उनीजस्ता कैयौं गरिब कंगाल बनिसकेका छन्। ती निरक्षर गरिबलाई थोरै कर्जा दिई धेरैको कपाली कागज बनाएर सहीछाप गराउँछन्। पछि त्यही कागजलाई हतियार बनाएर अदालतमा मुद्दा हाल्ने र गरिबको उठिबास लगाउने उनको धन्दा बनिसकेको छ।

महोत्तरीको भंगाहा—५ सिद्धपुरका मिटरब्याजी अनुरुद साह ।

‘ऋणै नदिई १६ लाख तिर्नुपर्‍यो’
धनेश्वर महतोलाई घरखर्च जुटाउन हम्मे पर्‍यो। भंगहा– ४, प्रेमनगरका ४८ वर्षीय उनी पनि ऋण माग्न अनुरुदकै दैलोमा पुगे। २०७४ सालमा सयकडा ३ रुपैयाँ प्रतिमहिना ब्याजदरमा उनले धनेश्वरलाई एक लाख ऋणको चेक दिए। घरमै लेखनदास बोलाएर अनुरुदले दाइ लक्ष्मण साहलाई धनी खडा गराएर चेक थमाएका थिए। तर, १२ लाख ऋण दिएको कपाली तमसुकमा धनेश्वरलाई सहीछाप गराएको निरक्षर उनले पत्तै पाएनन्।

धनेश्वरसँग उनले १९ साउन, २०७२ सालको पुरानो मितिमा साँवाको १२ गुणा बढीको कपाली तमसुक गराएका थिए। चेक लिएर बैंक जाँदा खाता रित्तै थियो। धनेश्वर फर्केर अनुरुदको घर पुगे र गुनासो गरे। अनुरुदले हत्तनपत्त आफ्नो हातबाट चेक खोसेर च्यातिदिएको सुनाउँदै धनेश्वरले भने, ‘भोलि नगदै दिन्छु भन्यो। अर्को दिन पनि पैसा दिएन। धेरै किचकिच गरेको भन्दै झपारेर पठाइदियो।’ अन्नपुर्णपोस्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot