Logo

प्रचण्डलाई छाडेर ओली समूहमा पुगेकोमा बादललाई पछुतो



काठमाडौं, २७ माघ । कुनैबेला प्रचण्ड निकट मानिएका रामबहादुर थापा बादल तत्कालिन नेकपा माओवादी फुट्दा मोहन वैद्य किरण समूहका लागे । बादल वैद्य समूहमा लाग्दा प्रचण्डले चित्त दुखाए । पछि वैद्यबाट फेरि माओवादी केन्द्रमा प्रचण्डले फर्काए ।

एमाले र माओवादीबीच एकतापछि नेकपा बन्दा बादललाई प्रचण्डकै पहलमा सचिवालय सदस्य बनाइयो । त्यसपछि प्रचण्डले बादललाई आफूपछिको हस्तीका रुपमा लिएर साथ दिए । ओली सरकारमा बादललाई प्रचण्डकै पहलमा गृहमन्त्री बनाइयो । यसका लागि प्रचण्डले निकै संघर्ष गर्नुपरेको थियो ।

नेकपाभित्रको विवाद चर्कदै जाँदा बादलले प्रचण्डको साथ छाड्दै गए । नेकपा विभाजन भएपछि बादल केही दिन तटस्थ देखिए । तर, अन्तमा उनी प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा लागे । बादलले आफू निकट दावा लामालाई खेलकुदमन्त्री बनाउन सफल भए । संवैधानिक निकायमा आफू निकटस्थलाई नियुक्त गर्ने आश्वासन पनि पाएपछि बादल ओली समूहमा लागेका थिए ।

बादलले साथ छाड्दा प्रचण्डले निकै पीडा भोगेको अनुभव सुनाइसकेका छन् । उनलाई केही दिन थामिनसक्नुको पीडा पनि भएको थियो । बादल फर्कने आशाका साथ अभिव्यक्ति पनि दिए । तर, २३ माघमा नारायणहिटी अगाडि आयोजित जनसभामा बादल प्रचण्डविरुद्ध गर्जिए । उनले ठाडै प्रचण्डलाई जावलाखेलको जु मा थुन्छु भने ।

बादल प्रचण्डविरुद्ध गर्जिए पनि ओली समूहको पेलाईमा परेका छन् । उनी निकटस्थहरु कसैले पनि संवैधानिक निकायमा नियुक्ति पाएनन् । गृहमा पनि उनको भुमिका कमजोर बनाइएको छ ।

नेकपाको ओली समूहमा पनि बादल पक्षलाई पेलिएको छ । राष्ट्रिय युवा संघको केन्द्रीय समिति भेला नै बादल समूहले बहिष्कार गरेको छ । आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै बादल समूहले बहिष्कार गरेको हो । बादलले आफ्नो सचिवालयका विरु तामाङलाई अगाडि बढाएर वाइसिएल ब्युँताएका छन् । उनले ओली समूहको पेलाई युवाविद्यार्थीको संगठन हुँदै माथिल्लो निकायसम्म भोग्न थालेका छन् । यसबाट बादलले प्रचण्डलाई छाडेर पछुतो मान्न थालेको बुझिएको छ । उनले कुनैपनि बेला परिस्थितिलाई विचार गरेर ओली समूहबाट विद्रोह गर्न सक्ने विश्वस्त स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot