काठमाडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । आज काठमाडौंमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग छलफल गरेका हुन् । छलफलको क्रममा अध्यक्ष दाहालले नेपालमा लोकतन्त्रको हत्या भैरहेको जिकिर गरे । उनले भने,‘नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौं । अलग–अलग भेटेर कुरा गरेका छौं ।’
दाहालले सर्वोच्च अदालतले संविधानको भावनाअनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गरे । उनले भने,‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन । जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ ।’ Photo By: Bishnu Rijal/Facebook