Logo

विप्लवसहित चार कम्युनिस्ट घटकको रणनीतिक मोर्चा, बिहिबार आन्दोलनको घोषणा गर्ने



काठमाडौं, २७ माघ । विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी खुलेरै प्रस्तुत हुने भएको छ । भूमिगत र अर्धभूमिगत रुपमा रहेको विप्लव समूह अन्य तीन कम्युनिस्ट घटकसँग रणनीतिक मोर्चा बनाएर आक्रामक रुपमा खुल्लेआम प्रस्तुत हुने भएको हो ।

विप्लव निकट अनलाइन पत्रिका इरातोखबरले क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा बनेको जनाएको छ । रणनैतिक संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले समाजवाद/जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ रणनैतिक मोर्चा बनाएका हुन् । मोर्चाले प्रज्ञा भवन कमलादीमा अवधारणा सार्वजनिक गर्ने भएको छ ।

विप्लवसहितको चार कम्युनिस्ट घटकले आन्दोलनको घोषणा समेत गर्ने भएको हो । इरातोखबरका अनुसार मोर्चाको सांगठनिक संरचना पनि टुंगो लगाएका छन् ।

भूमिगत रुपमा रहेका विप्लव वर्तमान सरकारप्रति आक्रामक बन्दै जाँदा अन्य चार कम्युनिस्ट घटकसँग रणनैतिक मोर्चा बनाएर सडकमा आउन लाग्नुलाई अर्थपूर्ण मानिएको छ । विप्लव समूह हिंसात्मक गतिविधिमा समेत संलग्न हुँदै आएको छ । उसका कार्यकर्ता सुरक्षाकर्मीबाट मारिएको तथ्यांक छ । विप्लव समूहबाट पनि हत्याका घटनाहरु भएका छन् ।

यसअघि १४ पौषमा प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका थिए । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका थिए ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चारवटा कम्युनिस्ट शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा संसद बिघटन गरेको आरोप लगाएको थियो । उनीहरुले संसदीय व्यवस्था नै असफल भएको निष्कर्ष समेत निकाल्दै जनगणतन्त्र स्थापनाका लागि एक भएर अगाडि बढ्न लागेको जनाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot