Logo

हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान



काठमाडौँ, २८ माघ। भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ ।हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए ।उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय रैनी र तपोवन क्षेत्रमा रहेका सडकमा कार्यरत मजदुर तथा तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसनका कर्मचारी बढीजसो बेपत्ता छन् । ‘मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको हो,’ पाण्डेयले फोनमा भने, ‘पहिचान खुलेका मृतक कामदारहरू कालीकोट र जुम्ला जिल्लाका छन् ।’

‘टोकन नम्बर’ का आधारमा पत्ता लागेका मृतकमा नरेन्द्रबहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश नेपाली छन् । ‘यो विपत्तिमा परेर नेपाली श्रमिकले ज्यान गुमाएको सूचनालाई सक्दो अभिलेखमा राख्ने र सम्बद्ध परिवारलाई राहत–क्षतिपूर्ति दिलाउने कुरामा हरिद्वार–ऋषिकेशको नेपाली समाज लागिपरेको छ,’ पाण्डेयले भने, ‘तर, विपत्तिपछिको हताहत स्थिति साम्य भइनसकेकाले सबै सूचना लिन र राहत–उद्धारमा समन्वय गर्न अझै मुस्किल परिरहेको छ ।’

यो विपत्तिमा परेर ज्यान गुमाउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका छन् । उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हराइरहेकामध्ये ११ जना नेपाली छन् । सूची सार्वजनिक भएको बाहेक पनि थप ४० जनाभन्दा बढी हराइरहेको चमोली जिल्ला विपद् व्यवस्थापन कार्यालयको कन्ट्रोलले जनाएको छ । सार्वजनिक सूचीमा तिनीहरूलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ ।हराइरहेका नेपालीहरूमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात ऋषिगंगा जलविद्युत् परियोजनामा र एक जना रैनी गाउँमा मजदुरी गर्दै आएका थिए । तीमध्ये तपोवन आयोजनामा काम गर्ने कैलालीको टीकापुरका सोहन चौधरीको मात्र ठेगाना खुलाइएको छ । प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरूको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नभएकाले थप नेपालीहरू बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।

उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दालगायतका नदीमा बाढी आएको थियो । अलकनन्दा हिमाली क्षेत्रमा हिमपहिरोका कारण हिमनदीमा विस्फोट भएको आशंका गरिए पनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । उक्त घटनामा परेर मंगलबार साँझसम्म ३२ जनाको शव फेला परेको छ ।

घटना भएको तीन दिन बितिसकेकाले मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ । उद्धार टोलीले मंगलबार थप ६ जनाको शव फेला पारेको थियो । ती सबै शव नदी किनारमा अधिकांश अंगभंग भएको अवस्थामा थिए । बाढीले हिमनदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको थियो । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चारवटा पुल पनि बगाएको छ । बाढीका कारण उक्त क्षेत्रका चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटीपीसी जलविद्युत् परियोजनामा बढी क्षति पुगेको छ । बाढीले एनटीपीसीको जलविद्युत् परियोजनाका दुई सुरुङ हिलो र ढुंगाले भरिएको थियो ।

त्यही आयोजनाको सानो सुरुङमा फसेका चार जना नेपालीको आइतबार जीवितै उद्धार गरिएको थियो । उनीहरूलाई आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को उद्धार टोलीले उद्धार गरेको थियो । उनीहरूको आईटीबीपीकै अस्पतालमा उपचार भइरहेको छ । आइतबार साँझसम्म ती चार जना नेपालीसहित १२ जनालाई जीवितै उद्धार गरिएको हो । बिहान १० बजेदेखि थुनिएका उनीहरूलाई साँझ ५ बजे उद्धार गरिएको थियो ।

त्यसबाहेक परियोजनाको मुख्य सुरुङमा कम्तीमा ३५ मजदुरहरू फसेको आशंका गरिएको छ । उनीहरूको उद्धार प्रयास जारी छ । चमोली जिल्ला प्रशासनको कन्ट्रोल रुमका अनुसार उद्धार टोलीले करिब दुई किमि लामो सुरुङको ८० मिटरसम्मको खण्डमा भरिएको हिलो र ढुंगा हटाइसकेको छ । उद्धारका लागि एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी, एसएसपी र सेनालगायतको टोली खटिएको छ ।

पश्चिम नेपालबाट बर्सेनि हजारौंको संख्यामा नेपालीहरू उत्तराखण्डको जलविद्युत् र सडक परियोजना काम गर्न जाने गरेका छन् । त्यही भएर आइतबारको बाढीमा हराएकाहरूमध्ये थप नेपालीहरू पनि हुन सक्ने आशंका गरिएको छ ।-कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot