काठमाडौं, २८ माघ । विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ ।
सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म चौडाइ विवादकै कारण काम अघि बढ्न नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक खण्डमा वन क्षेत्रमा बाहेक अन्यत्र बस्ती क्षेत्रमा चौडाइ बढाउन नसकिएको आयोजनामा सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए । उनका अनुसार बस्ती क्षेत्रमा चार÷पाँच मिटर चौडाइमा नै कालोपत्र भइरहेको छ । उनले भने, “जतिमा गर्न सकिन्छ त्यतिमा कालोपत्र गरेर पनि चाँडो टुङ्ग्याउन लागिएको छ ।”
सरकारले गत वर्ष विस्तारका क्रममा रहेका सडकमा जति चौडाइ उपलब्ध हुन्छ त्यतिमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सडक विभागले निर्माण व्यवसायीलाई निर्माणस्थल उपलब्ध गराउन सकेको थिएन । सडक छेउका घरहरुले घर भत्काउन नमानेपछि सडक खाल्डैखाल्डा भएको थियो । सडकको प्रयोग गर्ने धेरै सवारी चालकले समेत कठिन यात्रा गर्नुपरेको थियो । सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पटक–पटक सडक अवरुद्धसमेत गरेका थिए । सङ्गठितरूपमा घर भत्काउन नमानेका स्थानीयवासीले नै उपलब्ध चौडाइमा चाँडो कालोपत्र हुनुपर्ने माग गर्दै आएका थिए ।
विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडक पनि सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिइएको सूचना अधिकारी देवकोटाले बताए । उनका अनुसार अघिल्ला वर्षहरुमा सडक चौडाइ बढाउन खोज्दा सडक निर्माण हुनसकेको थिएन भने गत आवमा कोभिड–१९ का कारण निर्माण अवरुद्ध बन्न पुगेको थियो । चालु आवमा काम गर्ने वातावरण भए पनि केही समय पहिलेसम्म गृह मन्त्रालयले खानीजन्य उद्योग बन्द गर्दा निर्माण सामग्रीको अभाव भएको थियो । सबै किसिमका समस्या हट्दै गएकाले अहिले अधिकांश स्थानमा निर्माण भइरहेको छ । उनले भने, “अबको केही महिनाभित्रै सबै सडक सकाउनुपर्छ भनेर काम भइरहेको छ ।”
ठेचोबाट टाखेलसम्मको सडक गत आवमा नै सम्पन्न भइसकेको थियो । ढोलाहिटीबाट सुनाकोठी हुँदै ठेचोसम्मको सडक अहिले निर्माण भइरहेको छ । ढोलाहिटीबाट सुनाकोठीसम्म दुईवटा प्याकेजमध्ये एउटा प्याकेज सकिन लागेको र अर्को प्याकेजमा बाँकी रहेकामा छिट्टै सकाउने लक्ष्य लिइएको देवकोटाले बताए । रासस