Logo

‘जनयुद्ध दिवस’ पारेर विप्लव सक्रिय, सुरक्षा शतर्कता बढाइयो



काठमाडौं, २८ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘जनयुद्ध दिवस’ मनाउने घोषणा गरेको छ । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले हिंसात्मक जनयुद्ध शुरु गरेको २६ वर्ष पुग्न लागेकोमा विप्लवले सक्रियता बढाएको हो ।

फागुन १ गते विप्लव समूहले जनयुद्ध दिवस मनाउन देशव्यापी तयारी गरिसकेको जनाएको छ । विप्लव समूहको धारणा सार्वजनिक हुँदै आएको इरातोखबरले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने जनाएको हो ।

विप्लव समूहले जनयुद्ध मनाउन लागिरहँदा सुरक्षा शतर्कता बढाइएको छ । विप्लव समूहले हिंसात्मक गतिविधि गर्न सक्ने भन्दै सुरक्षा निकाय शतर्क भएको बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका हालका अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले १० वर्ष लामो जनयुद्ध गरेको थियो । जनयुद्धमा १८ हजारको ज्यान गएको थियो ।

तत्कालिन माओवादीका नेताहरु अहिले विभिन्न राजनीतिक दलमा सक्रिय छन् । प्रचण्ड नेकपाका अध्यक्ष छन् । विप्लवले सरकारले प्रतिबन्ध गरेको नेकपाको नेतृत्व लिएका छन् । मोहन वैद्य किरणको अलग्गै पार्टी छ । बादल ओली समूहमा गएका छन् ।

यसैगरी, कम्युनिस्ट घटकहरुले क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा बनाएका छन् । रणनैतिक संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् । उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देशयका साथ रणनैतिक मोर्चा बनाएका हुन् । मोर्चाले प्रज्ञा भवन कमलादीमा बिहिबार अवधारणा सार्वजनिक गर्ने भएको छ ।

विप्लवसहितको चार कम्युनिस्ट घटकले आन्दोलनको घोषणा समेत गर्ने भएका छन् । भूमिगत रुपमा रहेका विप्लव वर्तमान सरकारप्रति आक्रामक बन्दै जाँदा अन्य चार कम्युनिस्ट घटकसँग रणनैतिक मोर्चा बनाएर सडकमा आउन लाग्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot