काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सार्वजनिक जग्गा अतिक्रमण गर्ने देखि प्राकृतिक स्रोतको दोहन गर्नेलाई कारबाही गरिने बताएका छन् । उनले भ्रष्टाचारका गतिविधि हुन नदिन द्रुत निगरानी टोली समेत खटाउने बताए ।
‘खोला नदी रित्तिने गरी प्राकृतिक स्रोतको दोहोन पैसा कमाउने माध्यम हुन सक्दैन,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसमा आज प्रमुख आयुक्त राईले भने,‘सार्वजनिक सम्पत्तिका रुपमा रहेको भूमि अतिक्रमण सह्य हुन सक्दैन ।’ उनले सरकारी, सार्वजनिक, वन, खोला, खोल्छाले ओगटेका सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने वा प्रतिजग्गा ओगट्नेलाई कारबाहीको दायरामा ल्याइने बताए ।
आयोगले विचौलिया धन्दा रोक्न सूक्ष्म निगरानी बढाउने खुलाए । उनले भने,‘विचौलिया धन्दा रोक्न द्रुत निगरानी टोली खटाइनेछ ।’ स्वास्थ्य, कृषि, सिफारिश, मालपोत तथा जग्गा रजिष्ट्रेशनमा हुने विचौलिया धन्दा रोक्न निगरानी बढाइने उनको भनाई थियो ।
विकास निर्माणमा लागत स्टिमेटमा हुने अनियमितता, काम ढिलो गर्ने लागत बढाउने, निर्माणमा हुने अनियमिततामा अख्तियारले निगरानी बढाउने बताए । उनले बोलपत्र प्रक्रियामा हुने मिलेमतो, एउटै काममा दोहोरो तेहेरो खर्च लेख्ने, ठेक्का ओगट्ने र काम नगर्ने क्रियाकलापविरुद्ध अख्तियार कडा रुपमा प्रस्तुत हुने बताए ।