काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले शक्तिको पछाडि लागेर खुट्टा कमाउन नहुने धारणा राखेका छन् । आज (बुधबार) काठमाडौंमा आफ्नो पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले आफूहरुले कुर्सीको लागि आन्दोलन नगरेको जिकिर गरे । उनले भने,‘हामीलाई कुर्सी चाहिएको होईन् । जनताको अधिकार चाहिएको हो । केपी व्यक्तिको विरुद्धको लडाईँ होईन् । प्रवृत्तिको विरोध हो ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी आयोग बनाएर सुकुम्बासीहरुको हित नगर्ने जिकिर गरे । उनले भने,‘तपाईँहरु भ्रममा नपर्नुहोस, केपी ओलीले माखो मार्ने छैनन् । हामी दिन्छौं । हामी प्रगतिको पक्षमा छौं । म आज प्रतिज्ञा गर्छु–मेरो जीवनमा, समकक्षी नेताहरुको यही पालामा, देशलाई समृद्ध बनाउनुको विकल्प छैन् । यही नै हो सपना हो । मेरो अब बाँकी रहेको जीवन प्रधानमन्त्री, मन्त्रीको निम्ति होईनु । जनताको हित र समृद्धिको लागि समपर्पित गर्ने प्रतिबद्धता जनाउँछु ।’
उनले ओलीले काईते कुरा गरेको पनि खरो टिप्पणी गरे । निर्वाचन आयोग पुगेर ओलीले काईते कुरा गरेको उनको आरोप छ । उनले भने,‘खबरदार, काईते कुरा गर्ने केपी । निर्वाचन आयोगले पनि राम्रो लक्षण गतिलो देखाएको छैन् । केपी ओलीले धम्क्याउँदैमा नडराउनुहोस् । सजिलो नठान्नुहोला । कसैले सजिलो नठाने हुन्छ । नेपाली जनतालाई हेप्ने दुस्साहस नगरे हुन्छ । नेपाली जनताले राजतन्त्र त फ्याँके । त्यो तानाशाही राजतन्त्र ढाल्ने केपी ओली होईन, हामी हौं, हाम्रो यही टिम हो । संवैधानिक निकाय पुग्नेहरुले खेलाँची ठान्ने काम नगरे हुन्छ । निर्वाचन आयोग खुट्टा नकमाउ भनेको हो । जनताले सहँदैन् ।