माघ २८, काठमाण्डौ । पिक आवरमा राजधानीका मुख्य सडकमा गुडेका सवारीसाधनको जामको अवस्था दयनिय छ । ट्राफिक जामको समस्या समाधान गर्न धेरै प्रयास भए पनि यातायात क्षेत्र अझै अस्तव्यस्त छ । तर पछिलो समय बिभिन्न स्थानमा करिडोरको काम सम्पन्न भएसंगै केही सहज भएको छ । धोवीखोला र वाग्मती कोरिडोर बनाएसँगै पहिला घण्टौ लाग्ने यात्रा अहिले कम समयमा नै पार गर्न सक्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् ।
सरकारले पछिल्लो समय उपत्यकाका नदीनालाका दुवैतर्फ सडक बनाउनुका साथै पुलमुनिबाटै साना सवारीसाधन क्रस गर्न सक्ने व्यवस्था मिलाएसँगै सर्वसाधारणलाई यात्रा सहज बनेको छ । करिडोर निर्माणले धेरैलाई सजिलो भएको छ ।
ट्राफिक जामको बिकल्पमा तीन दशकअघि नै सरकारले धोवीखोला कोरिडोर सडक बनाउने योजना ल्याएको थियो । यसको उद्देश्य सवारी जाम कम गर्ने मात्र नभएर धोवीखोलालाई व्यवस्थित गर्दै नदीकिनारका दुवैतिर सडक बनाएर सहरलाई व्यवस्थित गर्ने पनि थियो । वाग्मती दोभानसम्म धोवीखोला किनारमा दुवैतर्फ १२–१२ किलोमिटर लामा सडक बनिसकेको छ । यो कोरिडोरको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । तर मुआब्जा र क्षतिपूर्ति विवादका कारणले सुन्दरीजलदेखि गोकर्णसम्मको कोरिडोरको, तिलगंगा–तिनकुने खण्डमा लगायतका स्थानमा अझै बन्न सकेका छैनन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीका अनुसार कोरिडोर निर्माण सम्पन्न भएसँगै ट्राफिक व्यवस्थापनमा अझै सहज हुने छ । तर पछिलो समय सडकमा हुने बिभिन्न राजनैतिक गतिबिधिका कारण ट्राफिक व्यावस्थापनमा चुनौति आएको अधिकारीको भनाई छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र १२ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । ति सवारी सधान संचालन व्यवस्थित बनाउने निकै कठिन भइरहेका बेला करिडोर राम्रो विकल्पको रुपमा देखिएको छ ।