Logo

भागरथीको हत्या अपराधमा संलग्नहरूलाई छिटोभन्दा छिटो सार्वजनिक गर्छौं : मन्त्री शाह (अन्तर्वार्ता)



सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कडा कारबाही गरिने विश्वास दिलाएका छन् । उनले यो हत्या प्रकरणमा अत्यन्तै गम्भीर अनुशन्धान भैरहेकोले दोषी पत्ता लगाई कारबाही गरिने बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री शाहले यस्तो बताएका हुन् । प्रस्तुत छ मन्त्री शाहसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

तपाईँकोहरूको नेतृत्वमा बनेको प्रदेश सरकार किन निकम्मा बन्दै गयो भन्नुहोस त ? भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ, अहिलेसम्म अपराधीलाई पक्रन किन सक्नुभएन ?

तपाईँलाई राम्रोसंग थाहा होला, हाम्रो देशमा संघियता आएको छ । तर, संघीयताको मर्म र भावनाअनुसार जुन शान्ति—सुरक्षा र अपराध अनुसन्धान गर्नुपर्ने दायित्व र जिम्मेवारी प्रदेश सरकारको हो । त्यो अधिकार अहिलेसम्म पनि संघीय सरकारले प्रदेश प्रहरी बनाएर प्रदेशमा हुने सम्पूर्ण अपराधको अपराध अनुसन्धान गर्ने, दोषीमाथी कारवाही गर्ने र शान्ति—सुरक्षा कायम गर्ने यो सम्बन्धमा संघीय सरकारले अथोरोटी नै डेलिकेट गरेको छैन नि ।

भागरथीको हत्या भएको आज छ दिन भइसक्यो, दोषीालाई किन कारवाही गर्नसक्नुभएन ? तपाईँहरू कहाँ चुक्नुभयो ?

मैले भनिसकेँ नि प्रदेशको अपराधको अनुसन्धान गर्ने प्रहरीले हो ।

तपाईहरूको दायित्व छैन ? प्रदेश सरकार मौन बस्न मिल्छ ?

मौन त बसेकै छैन नि । काठमाण्डौंमा त्यत्रो स्रोत र साधनको परिचालन हुन्छ । त्यहीस्तरमा सबै खालका प्राविधिक र श्रोत साधानलाई परिचालन गरिएको छ । प्रदेश प्रहरी प्रमुख आँफै लागिरहनुभएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीबाट पनि डिएसपीको टोली खटिएको छ । यसरी प्रदेशको एसएसपीको टोली अर्को ठाउँमा खटिएको छ । हामीसंग भएका सम्पूर्ण श्रोत र साधन परिचालित गरेका छांै । घनिभुत रूपमा अनुसन्धान भइरहेको छ ।

जनता मुख्यमन्त्रीको कार्यलाय अगाडि धर्नामा छन ? तपाईँ कानुनमन्त्री भनिरहनु भएको छ कि मलाई अधिकार छैन ? किन ?

होईन् । संघीयतामा हामीले चाहेको लोकल अथोरेटी हो के, यहाँ सेन्टर अथोरेटी छ । यसरी बुझनुहोस् । प्रहरीलाई हामीले कमाण्ड, कन्ट्रोल र परिचालन गर्ने । हाम्रो निर्देशनमा चल्ने प्रहरी अहिलेसम्म प्रदेशमा आइसकेको छैन । अथोरोटी दिन पनि सरकारले आनाकानी गरिरहेको छ । तीन वर्ष भइसक्यो अहिलेसम्म हामीलाई अधिकार दिन आनाकानी भैरहेको छ । शक्तिको विकेन्द्रीकरण हुनुपर्ने, अधिकारको प्रत्यायोजन हुनुपर्ने, प्रदेश सरकारलाई अधिकारसम्पन्न गर्नुपर्ने, प्रहरी हाम्रो माताहतमा आउनुपर्ने । यो अहिलेसम्म पनि भएको छैन नि तपाईँले देखिराख्नुभएको छ नि ।

देखिरहेको छु, तर हाम्रो देशमा प्रदेश सरकार किन निकम्मा भयो ?

तपाईँलाई राम्रोसंग थाहा छ नि त संघीयताविरोधी तत्वहरू, लोकतन्त्रविरोधी तत्वहरू, संविधानविरोधी तत्वहरू, यो राष्ट्रविरोधी तत्वहरूको हातमा यो देश छ नि त । तपाईँलाई राम्रोसंग देखिराख्नु भएको छ ।

भागरथीको परिवारले अपराधी नसमाउँदासम्म शव नबुझ्ने अडान लिएको छ, तपाईंहरूले अपराधी पक्ता लगाउन सक्नुभएको छैन ? अब के गर्नुहुन्छ ?

यतिबेला हामीले समन्वय गरिरहेका छौँ । प्रदेश सरकार अत्यन्त दुःखित छ । यो दुःखद् घट्ना घटेको छ । हाम्रो प्रदेशमा हामीले सबै जिम्मेवार व्यक्तिहरूलाई अनुसन्धानमा खटाएका छौँ । अनुसन्धानको प्रतिफल आउनलाई केही ढिला हुनसक्छ । तर, आज नआएपनि भोलि प्रतिफल आउँछ भन्नेमा हामीलाई विश्वास छ । हामीसंग सबै अनुसन्धान विज्ञहरू परिचालन भएको स्थिति छ ।

यो घट्नापनि निर्मला पन्तकोजस्तै हुने हो कि ? अहिले त जनगुनासो व्यापक बढेको छ नि ?

पक्कै पनि, निर्मला पन्तको दुःखद् घटना भएको थियो । त्यसमा प्रहरीको इमिडिएट रेसपोन्स गर्नुपर्ने थियो । घट्नास्थलको अनुसन्धानबाट नै अपराधीमा पुग्न सकिन्छ । तर, त्यतिबेला घट्नास्थलको अनुसन्धान गर्ने छानविन गर्ने कुरामा गम्भिर लापरवाही गरियो । यो कारणले गर्दा हामीलाई अपराधीलाई कारवाही गर्ने कुरामा सफलता मिलिरहेको छैन् । तर, अनुसन्धान जारी छ । यो भागरथी भट्टकोमा समयमा नै अनुसन्धान भएको छ । अनुसन्धानका सम्पूण प्रक्रियाहरू सफल भएका छन । विज्ञहरू परिचालन भएका छन् । सम्पुर्ण स्रोत र साधन परिचालन भएका छन । ल्याबमा यो प्रयोग गर्ने भनेर पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएको छ । प्रहरीसंग बुझदा दोषीको नजिक/नजिक पुग्न लागेका छौं । आज नै सार्वजनिक नभएपनि यो अपराधमा संलग्नहरू छिटोभन्दा छिटो हामी सार्वजनिक गछौं । कानूनको कठघरामा ल्याउँछौ भन्ने उच्च मनोबलका साथ प्रहरीहरू परिचालित भएको स्थिति छ ।

त्यसो भए प्रहरीले छिट्टै अपराधी पक्रन सक्छ भन्ने तपाइको भनाई हो ?

पक्कैपनि, भागरथी भट्टको अपराधमा संलग्न अपराधीलाई कानुनको दायरामा अवश्य ल्याउँछन भन्नेमा हामी ढुक्क छौं ।

कति हप्ताभित्र ल्याउलान ?

ठ्याक्कै भन्ने कुरा होइन् यो । हाम्रो निर्देशनमा चल्ने प्रहरी भएको हामी ठ्याक्कै भन्न सक्दथ्यौं । तर, हामीले समन्वय गरिरहेका छाँै । अधिकार र शक्ति जनतालाई दिने कुरा सबैभन्दा पीडादायिक हुदोरहेछ । अहिलेसम्म संघिय सरकारले अधिकारको प्रत्यायोजन गर्ने कुरा, प्रदेशलाई बलियो बनाउने कुरा प्रदेशको यो लोकल अथोरिटी दिने कुराभन्दा उल्टै सेन्ट्रल अथोरिटी प्रयोग गरेर फेरी शक्तिलाई केन्द्रमा नै केन्द्रिकृत गरेर यस्ता अपराधमा ढिलाई गरिरहेको कुरा छ ।

यस्ता अपराधहरूमा राजनितिक गन्ध आउँछ ? हाम्रो देशमा यसमा तपाईँहरुको पनि संरक्षण हुने हो कि ?
होइन, होइन । यो युग भनेको रूल अफ ल को युग हो । सुप्रिमेसी अफ कन्स्टिच्युशन । म नै सर्वेसर्वा हुँ र देशमा बेथिति मच्चाउँला भनेर कसैले नसोचे पनि हुन्छ । यो लाकतान्त्रिक युग हो । यो जनताको युग हो । यो पारदर्शीको युग हो । विधि र कानुनसम्मत तरिकाले सबै राज्यका अंग चल्नुपर्दछ । यसमा कुनै विवाद हुनसक्दैन् ।

अब राजनितिक संरक्षण कसैलाई पनि हुदैन ?

अब कनै आलटाल हुँदैन् । अपराधको राजनीतिकरण वा राजनितिको अपराधीकरण कुनै हालतमा हुँदैन् । अहिलेको युग, जनताको लोकतन्त्रको युग हो । न्यायको युग हो भनेर घोषणा गरिरहेका छौं । फेरिपनि अपराधको राजनितिकरण वा राजनितिको अपराधीकरण गर्नेहरुलाई कानुनको कठघरामा ल्याउँछौँ । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot