Logo

कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन सिफारिस



काठमाण्डौ । कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन जिल्ला कार्य समिति तनहुँले सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले वडाहरुबाट जोशीमाथि कारबाही फुकुवाको सिफारिस आएको भन्दै केन्द्रमा कारबाही फूकुवाका लागि सिफारिस गरेको जिल्ला कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपानले निर्णयबारे जानकारी दिँदै कारबाही फुकुवा गर्न वडा तहदेखि नै अनुरोध आएको हुँदा त्यसमा आवश्यक निर्णय लिनका लागि केन्द्रमा सिफारिस गरेका जानकारी दिए ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । नेता भीष्मराज आङ्दम्बे नेतृत्वको पाँच सदस्यीय अनुशासन समितिले जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पनि पार्टीबाट निष्कासित गरेको थियो ।

जोशी र ओझालाई पाँच वर्ष र विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ । तर विष्ट र ओझामाथि गरिएको कारबाही फुकुवाका लागि ठोस प्रयास नभएको बुझिएको छ । सभापति न्यौपानेले पार्टी सभापतिको हैसियतले बदलिंदो परिस्थितिमा कारबाही फुकुवाका लागि सिफारिस हुनुपर्छ भन्ने लागेर सिफारिस गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्