Logo

प्रचण्डले फर्काउन वार्ता गरेका दुई मन्त्रीको बालुवाटारबाट खोजी



काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेपछि ती को हुन् भन्ने चासो बढेको छ । यसले प्रधानमन्त्री निवास बालुवाटारमा समेत चासो बढेको छ । बालुवाटारले तिनको खोजी थालेको बुझिएको छ ।

प्रचण्डले ढुक्कका साथ दुई मन्त्री फर्कने बताएका थिए । उनले हिजो भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै दुई मन्त्रीको आफूसँग वार्ता समेत भइरहेको बताए । ठुलो संख्यामा फर्कने क्रम चलेको उनको भनाई थियो । ‘हामी कहाँ फर्कनेको लामो लिष्ट छ,’ प्रचण्डले भने,‘उहाँले नै बनाएका दुईजना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’

दुई मन्त्री फर्कनका लागि प्रचण्डसँग समेत कुराकानी गरिसकेको विषय उठेपछि तिनको पहिचान गर्न खोजिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा पूर्व माओवादीबाट पाँचजनालाई मन्त्री बनाएका थिए । तीमध्ये गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई जावलाखेलको जुमा लगेर थुन्ने चेतावनी दिइसकेका छन् । प्रभु शाह पनि प्रचण्डको आलोचनामा उत्रिएका छन् । ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिदै आइरहेका छन् ।

यतिबेला प्रधामन्त्री ओलीसँग गृहमन्त्री बादल भने असन्तुष्ट छन् । विशेषगरी युवा संघको पुर्नगठनमा उनको पक्षधले बहिष्कार नै गरेको छ । यसबाट बादल आफूले मन्त्री बनाएका दावा लामासहित फर्कने अनुमानहरु लगाउन थालिएको छ ।

सरकार छाडेर जाने सम्भावितमा टोपबहादुर रायमाझी, प्रभु शाह, मणिचन्द्र थापा र गौरीशंकर चौधरी पनि हुनसक्छन् । उनीहरु सबै विगतमा प्रचण्डसँग नजिक थिए । रायमाझी र शाह फर्कने सम्भावना कम नै छ । तर, राजनीति सम्भावनाको खेल भएकाले आश्चर्यजनक लाग्ने घटनाहरु हुनसक्छन् । गुट परिवर्तनमा पनि त्यस्तै हुनसक्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot