Logo

पत्रकार बानियाँलाई मिडिया सोसाइटी अवार्ड



म्याग्दी, २९ माघ: म्याग्दीका पत्रकार प्रताप बानियाँलाई ‘मिडिया सोसाइटी अवार्ड–२०७७’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको चौथो वार्षिक साधारणसभाका अवसरमा आज बेनीमा आयोजित समारोहमा रु सात हजार १५० नगदसहित उनलाई पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य सुदर्शनकुमार श्रेष्ठले बानियाँलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाइएको थियो । बेनीबाट प्रकाशन हुने ‘रुप्से दैनिक’ पत्रिकाका सहसम्पादक बानियाँ ‘नेपाल टेलिभिजन’, ‘नेपाल समाचारपत्र दैनिक’, ‘उज्यालो ९० नेटवर्क’, ‘धवलागिरि टेलिभिजन’लगायत सञ्चारमाध्यममा आबद्ध छन् ।

विसं २०७४ मा जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालक आवद्ध सोसाइटीले विसं २०७५ देखि वर्षमा एक सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले जानकारी दिए । रु दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा १० वर्षदेखि काम गरेका एक संस्थाका सदस्य सञ्चारकर्मीलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य र अमित विश्वकर्मा सम्मानित भैसकेका छन् ।

साधारणसभामा नागरिक समाजका संयोजकसमेत रहेका ज्येष्ठ सदस्य श्रेष्ठले सङ्कटमा परेका जिल्लाका सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धन तथा पत्रकारिताको विकासमा सोसाइटीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चारमाध्यमलाई विनियोजन गरेका बजेट स्थानीय सञ्चारमाध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ । साधारणसभाले सचिव विश्वकर्माको प्रगति र कोषाध्यक्ष आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot