Logo

कसूर ठहरिए झाँक्रीलाई ७ वर्ष जेलसजाय, संविधानविद् त्रिपाठी भन्छन्ः झाँक्रीमाथि यो कानुन आकर्षित हुँदैन



काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामुकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसूरको अभियोगमा प्रहरीले पक्राऊ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गर्ने गरी अभिव्यक्ति दिएपछि उनलाई आज राज्यविरुद्धको कसूरमा पक्राऊ पूर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

राज्यविरुद्धको कसूर दफा ५८ पुष्टि भएमा झाँक्री सात वर्ष जेल जान सक्नेछिन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राज्यविरुद्धको कसूर ठहर भएमा सात वर्षको जेल सजाय हुनसक्ने बताए । तर, झाँक्रीको हकमा राज्यविरुद्धको कसूर दफा ५८ आकर्षित हुननसक्ने तर्क गरे । उनले भने,‘रामकुमारी झाँक्रीले राष्ट्रपतिलाई डर धाक धम्की नदिएकोले यो दफा आकर्षित हुनसक्दैन, यो ठाडै राज्य शक्ति र कानुनको चरम दुरुपयोग हो ।’

त्रिपाठीले लोकतान्त्रिक समाजको चरित्रको खिलाफमा व्यक्तिको बोल्ने अधिकारमाथि प्रहार गर्न खोजिएको बताए । उनले भने,‘राज्यविरुद्धको कसूरमा पक्राऊ गरी त्रास सृजना गर्न खोजिएको छ ।’ उनले झाँक्रीविरुद्ध राज्यविरुद्धको कसूरको अभियोग लगाउनुलाई हाँस्यास्पद भने ।

लोकतान्त्रिक समाजलाई ध्वस्त पार्न खोजिएको, खुल्ला समाजलाई बन्द समाज बनाएर अधिनायकवादको बाटो निर्माण गर्न खोजिएको आरोप लगाए ।

झाँक्रीको अभिव्यक्तिमा फौजदारी कानुन आकर्षित नहुने बताए । उनले राष्ट्रपतिको मानमर्दन गरेकै भएपनि देवानी कानुन आकर्षित हुनसक्ने बताए । उनले भने,‘गाली बेइज्जतीको मुद्दामा जानुपर्छ र त्यसका लागि सम्बन्धित व्यक्ति स्वयं मुद्दा दर्ताका लागि जानुपर्छ ।’

लोकतन्त्रमा अप्रीय लाग्ने र कर्कस लाग्ने बोली पनि बोल्न पाउनुपर्ने बताए । कसैको बोलीले बिजेमा वा मानमर्दन भएको लागेमा कानुन बमोजिम उजुरी गर्ने प्रावधान रहेको त्रिपाठीले बताए ।



प्रतिक्रिया दिनुहोस्