काठमाडौं, ३० माघ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी नयाँ दिल्ली गएका छन् । उनी आज विहान नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेका हुन् ।
खनाल स्वास्थ्योपचारका लागि दिल्ली पुगेको उनका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनी चार दिन दिल्लीमा रहनेछन् । दिल्लीमा रहँदा एपोलो अस्पतालमा चेकजाँच गर्नेछन् ।
खनालका साथमा उनकी पत्नी रविलक्ष्मी चित्रकार पनि गएकी छिन् । खनालको स्वास्थ्यमा समस्या आएकाले नियमित चेकजाँच गर्दै आएका छन् ।
भारतमा रहँदा उनले केही राजनीतिक भेटघाट पनि गर्ने बुझिएको छ । उनले पुराना राजनीतिक मित्रहरुसँग भेट्ने बुझिएको छ ।
नेपालमा राजनीतिक संकट बढिरहँदा नेताहरुको भारत दौडाहा बढिरहेको छ । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएका थिए । उनी पत्नी सीता दाहालको उपचारका लागि भन्दै मुम्बई पुगेका थिए ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि स्वास्थ्योपचारका लागि भन्दै दिल्ली पुगेका छन् ।
तस्बिरः विष्णु रिजालको फेसबुक पेजबाट साभार