Logo

पशुपतिनाथलाई कम्युनिस्ट नेताहरुले किन ताने राजनीतिमा ?



समाचार विश्लेषण । कम्युनिस्टहरु मार्क्सवादी सिद्धान्तका अनुयायी हुन् । मार्क्सले धर्मलाई अफिम भनेका छन् । नेपालका कम्युनिस्टहरु पनि आफूलाई नास्तिक भन्छन् । उनीहरु राज्यको धर्म हुँदैन भन्छन् । तर, नेपालमा रोचक पक्ष यो छ कि धर्मलाई राजनीतिमा तान्न कम्युनिस्टहरु नै अगाडि देखिएका छन् ।

पहिलो संविधानसभाको चुनावपछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथमा नेपाल पूजारी भट्ट राख्ने कदम चाले । यसले उनीमाथि धर्ममाथि प्रहार गर्न खोजेको आरोप लाग्यो । पशुपतिनाथलाई राजनीतिमा तान्न खोजे । यसले प्रचण्डलाई विवादमा तान्यो ।
प्रचण्ड पशुपतिनाथमा भट्ट परिवर्तनका लाग चालेको कदमबाट पछाडि हटे । यसले उनलार्र्ई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ठुलो राजनीतिक धक्का समेत लाग्यो । प्रचण्डलाई छिमेकी मुलुक भारतले पशुपतिनाथको मामलामा हस्तक्षेप गरेको भन्दै आशंका गरेको थियो । त्यसले उनको भारतसँगको सम्बन्ध निकै बिगारेको थियो । प्रचण्डले अहिले फेरि पशुपतिनाथको विषयलाई उठाएका छन् । उनले यसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको संकल्प पूजा गरेको विषयलाई लिएर खुलेआम धर्मबारे भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । प्रचण्डमाथि ओली निकटस्थहरुले भैंसी पूजा गरेको विषय सम्झाउन थालेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा भैंसी पूजाबारे स्मरण गराएका छन् । प्रचण्डले भने ओलीलाई कम्युनिस्ट नेता नभई हिन्दु संघको नेता जसरी प्रस्तुत भएको टिप्पणी गरेका छन् । यसरी कम्युनिस्ट पार्टीभित्रको विभाजन र संघर्षमा धर्मको विषय जोडतोडले उठ्न थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघको दोस्रो हप्ताको सोमबार पारेर पशुपतिनाथको संकल्प पूजा गरेपछि धर्मको मुद्दाले नेपाली राजनीतिमा स्थान मजबुत बनाएको छ । कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री भएका ओलीले पशुपतिनाथको संकल्प पूजा गर्नुले निकै चासो पाएको छ । ओलीले धर्मको विषयमा जोडतोडले बोलिरहँदा उनले पशुपतिनाथको यात्रा गरेका हुन् ।
देशको राजनीतिमा ‘हिन्दु राष्ट्र’ को मुद्दा उठिरहँदा ओलीले त्यो सेन्टिमेन्टलाई आफ्नो पक्षमा पार्ने संकेतहरु गरिरहेका छन् । उनले धर्म नीरपेक्षताबारे प्रश्न पनि उठाएका छैनन् न त ‘हिन्दु राष्ट्र’को पक्षमा नै बोलेका छन् । तर, उनको मौनताले धर्मको विषयलाई राजनीतिक अस्त्र बनाउनसक्ने सन्देशहरु प्रवाह गरिरहेको छ ।

ओलीको पशुपतिनाथको यात्रा र धर्मको विषय जोडतोडले उठाएको विषयमा नेकपाको प्रचण्ड माधव समूहका नेताहरु धमाधम बोल्न थालेका छन् । प्रचण्डले त ओलीले भ्रम छर्न खोजेको आरोप लगाएका छन् । बुधबार उनको समूहले राजधानीमा आयोजना गरेको सभामा प्रचण्डले ओलीमाथि धर्मबारे भ्रम फैलाउन खोजेको आरोप लगाएका हुन् । आफूले चुनाव जितेको क्षेत्रमै पुगेर ओलीले अयोध्यापुरी राम जन्मभूमी भएको र राम मन्दिर बनाउने कुरा गरेकोमा पनि प्रचण्डले आक्रोश पोखे ।

माधवकुमार नेपालले पनि ओलीले धर्मास्त्र प्रयोग गर्न खोजेको घुमाउरो तरिकाले आरोप लगाए । ओलीको पशुपतिनाथको संकल्प पूजाप्रति कटाक्ष गर्दै पापी सम्म भने । नेपालले भने,‘ओलीको पाप कसैले धोइपखाली गर्न सक्दैनन् ।’ ओली जतिसुकै पशुपतिनाथ गएपनि पाप नपखालिने टिप्पणी गरे । उनले भने,‘लोकतन्त्रको हत्यारालाई पशुपतिनाथले माया गर्दैछन् ।’ ओलीले मदन भण्डारीको नाम बिर्सन थालेको बताए । भण्डारीको नाम बिर्सेर पशुपतिनाथलाई सम्झन थालेको बताए ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि ओली राजनीतिक रुपले पराजित भइसकेकाले पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगेको टिप्पणी गरे ।’ ओलीले विज्ञान र माक्र्सवादमा विश्वास गर्न छाडेको बताए । अब पशुपतिनाथमा मात्र विश्वास गरिरहेको बताए । खनालले पनि ओलीले धर्मको मुद्दाको सहारा लिन खोजेको विषय उठाएका छन् ।

माधव नेपाल निकट नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले ओलीले पशुपतिनाथ गुहारेको टिप्पणी गरे । ‘सधैं पशुपति गुहार्ने राजा वीरेन्द्रको वंश नाश भयो, ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्याइदिए,’ पन्तल भने,‘अब ओलीजीलाई पशुपतिनाथले के कृपा गर्ने हुन् ?’

ओलीले पशुपतिमा सुनको जलहरीका लागि २० करोड निकासा गरेको विषय पनि उठाए । यसलाई ओलीले धर्मको सहारा लिएको रुपमा विश्लेषण गरेका छन् । ओलीले धर्मास्त्रको प्रयोग गरेबाट नयाँ राजनीतिक सम्भावनाहरु देखिएको छ । अब नेपालको राजनीतिमा धर्मको मुद्दा मुख्य बन्दै गएको देखिन्छ । धर्मको विषयले राजनीतिक बहसमा स्थान पाउने देखिइसकेको छ । चुनावी एजेन्डामा पनि राप्रपाबाहेकको दल विशेषले पनि धर्मको विषय कुनै न कुनै रुपमा प्राथमिकताका साथ उठाउने सम्भावना देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्