Logo

प्रचण्ड-नेपाल समूहको नेकपा देखि विप्लव सम्मले ‘जनयुद्ध दिवस’ मनाउने



काठमाडौं, ३० माघ । भोलि जनयुद्ध दिवस । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले हिंसात्मक ‘जनयुद्ध’ शुरु गरेको २६ वर्ष पुग्दैछ ।

‘जनयुद्ध दिवस’ अधिकांश कम्युनिस्ट घटकहरुले मनाउने भएका छन् । प्रचण्ड नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टीले ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर नै जारी गरेको छ ।

शहीद स्मृती तथा सम्मान कार्यक्रम को ब्यानरमा जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले सर्कुलर नै जारी गरेका हुन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले भने जनयुद्ध दिवस नमनाउने भएको छ । ओली जनयुद्धलाई हिंसात्मक गतिविधिका रुपमा लिदै आएका छन् ।

यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि ‘जनयुद्ध दिवस’ मनाउन देशव्यापी तयारी गरिसकेको छ । विप्लव समूहको धारणा सार्वजनिक हुँदै आएको इरातोखबरले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने जनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका हालका अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले १० वर्ष लामो जनयुद्ध गरेको थियो । जनयुद्धमा झण्डै १८ हजारको ज्यान गएको थियो ।

तत्कालिन माओवादीका नेताहरु अहिले विभिन्न राजनीतिक दलमा सक्रिय छन् । प्रचण्ड नेकपाका अध्यक्ष छन् । विप्लवले सरकारले प्रतिबन्ध गरेको नेकपाको नेतृत्व लिएका छन् । मोहन वैद्य किरणको अलग्गै पार्टी छ । बादल ओली समूहमा गएका छन् ।

जनयुद्ध दिवस मनाइरहँदा विप्लव सहित चारवटा कम्युनिस्ट घटकहरुले बिहिबार क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा घोषणा गरेका छन् ।

रणनैतिक संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् । उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot