Logo

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने



काठमाडौं, ३० माघ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । उनी फागुनको अन्तिमतिर भारत भ्रमणमा जाने भएका हुन् ।

पूर्वराजा निकट स्रोतका अनुसार भारत भ्रमण निश्चित भइसकेको छ । फागुनमै भ्रमणमा जाने तय भएपनि गते निश्चित गरिएको छैन । विश्वस्त स्रोतले भन्यो,‘सम्भवत फागुनको तेस्रो या चौंथो साता भ्रमण हुन्छ ।’

स्थल मार्गबाट पूर्वराजा भारत जानेछन् । उनी भारतको सिलगुढी हुँदै दार्जिलिङ, खर्साङ कालिम्पोङलगायतका क्षेत्रमा केही दिन रहनेछन् । त्यहाँ उनले महत्वपूर्ण भेटघाट पनि गर्ने बुझिएको छ ।

यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा जाँदैछन् । उनको साथमा पूर्वरानी कोमल पनि हुनेछिन् । झापामै पूर्वरानी कोमलको जन्मदिन मनाउने तयारी भएको छ । होटल क्राउन प्लाजामा ७ फागुनमा उनको जन्मदिन मनाइने बुझिएको छ । यसको तयारी पूर्वराजाका सहयोगीहरुले गरिरहेका छन् ।

१६ फागुनमा स्वर्गीय राजा महेन्द्र शाहको श्राद्ध परेकाले उनी बीचमा काठमाडौं फर्कने तय भएको छ । काठमाडौं फर्किएको केही दिनमै पुनः झापा गई स्थलमार्गबाट भारत प्रवेश गर्ने तय भएको हो ।

यसअघि पूर्वराजा कोरोना भाइरसको महामारी अघि भारत भ्रमणमा गएका थिए । उनले गत वर्ष भारतको दार्जिलिङ र सिक्किमको भ्रमण गरेका थिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot