Logo

विश्वबजारमा चमत्कारिक रुपमा निरन्तर तेलको मूल्य वृद्धि, नेपालमा के होला ?



काठमाडौं, ३० माघ । कोरोना भाइरसको महामारीले विश्वको आर्थिक गतिविधि ठप्प हुँदा पेट्रोलियम पद्धार्थको मूल्य खस्केको थियो । दशकयताको रेकर्ड तोड्ने झरेको मूल्य यथास्थितिमा आउन केही वर्ष लाग्ने अनुमान गरिएको थियो । तर, चमत्कारिक रुपमा तेलको मूल्य पुरानै अवस्थामा फर्किएको छ ।

आखिर यस्तो चमत्कार कसरी भयो ? तेलको मूल्यबारे विश्लेषण गर्दै आएका डेभिड मिस्लेरका अनुसार अमेरिकी उत्पादकहरुका अलावा तेल उत्पादक देशहरुको संगठन ओपेकले उत्पादन घटाउनु एउटा मुख्य कारण हो । अर्कोतर्फ, विश्वको आर्थिक गतिविधि पुरानै अवस्थामा फर्किन लाग्दा तेलको अत्याधिक माग बढ्नु पनि हो । विश्व बजारमा कोरोना भाइरसको महामारीबीच आर्थिक संकटले भण्डारण पनि घटेको थियो । अहिले आर्थिक सुधारसँगै भण्डारण बढाउन कतिपय देशहरु लागपरेका छन् । यसले पनि माग बढेको छ । जसका कारण मूल्य वृद्धि हुनथालेको छ ।

ओपेकले २०२१ मा तेलको माग प्रतिदिन ५८ लाख ब्यारलका दरले बढ्ने अनुमान गरेको थियो । जनवरीको रिपोर्टमा प्रतिदिन ५९ लाख ब्यारलका दरले माग बढेको तथ्यांक छ । माग बढेसँर्ग उत्पादन पनि बढाउन थालिएको छ । तर, मागको तुलनामा उत्पादन कमै बढाइएकाले पनि मूल्य वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ६० डलर नाघेको छ । कोरोना कहरको मध्यतिर प्रतिब्यारल २० डलरसम्म पुगेको थियो । यसले तेल उत्पादक देशहरुलाई समस्या परेको थियो । उनीहरुले उत्पादन घटाएका थिए । ओपेक देशका अलावा रुस समेत बसेर तेल उत्पादन घटाउने सहमति गरेपछि मूल्यमा वृद्धि हुँदै गएको थियो ।

नेपालमा के होला

नेपालले इन्डियन आयल कर्पोरेशनबाट तेल निर्यात गर्छ । अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिसँगै कर्पोरेशनले तेलको नयाँ मूल्य पठाउँछ । त्यही अनुसार नेपाल आयल निगमले तेलको मूल्य समायोजन गर्ने गरेको छ । प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।

कोरोना कहरपछि निरन्तर मूल्य उकालो लागिरहेको छ । पटक पटक गरी मूल्य वृद्धि हुँदा अहिले पेट्रोलको मूल्य ११२ र डिजेलको मूल्य ९५ रहेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य १४ सय रुपैयाँ प्रति सिलिन्डर छ । यसै हप्ता मूल्य वृद्धि भएको हो । कोरोना महामारीको बखत मूल्यमा गिरावट आई पेट्रोल प्रति लिटर एक सय रुपैयाँभन्दा कम भएको थियो ।

विश्व बजारमा तेलको मूल्य आकाशिदै गर्दा भविष्यमा मूल्य निकै आकाशिने देखिएको छ । तेलको अर्थव्यवस्थाबारे विश्लेषण गर्दै आएकाले विश्व बजारमा तेलको मूल्य चन्द्रमामा पुग्ने विश्लेषण नगरेका होइनन् । यसले पनि मूल्य उकालो लाग्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्